शीर्ष वरीयताको बंगलादेशले थाइल्यान्डलाई ३९ रनले र नेदरल्यान्ड्सले डकवर्थ लुइस पद्धतिका आधारमा अमेरिकालाई २१ रनले पराजित गर्यो । बंगलादेश लगातार सातौं पटक र नेदरल्यान्ड्स पहिलो पटक महिला ट्वान्टी–२० विश्वकपमा पुगेका हुन् ।
What you should know
काठमाडौँ — बंगलादेश र नेदरल्यान्ड्स महिला ट्वान्टी–२० विश्वकप क्रिकेटमा पुगेका छन् । काठमाडौंमा भइरहेको महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा बुधबार यी दुई टोलीले सुपर सिक्समा आआफ्नो खेल जित्दै विश्वकपमा स्थान पक्का गरेका हुन् ।
शीर्ष वरीयताको बंगलादेशले थाइल्यान्डलाई ३९ रनले र नेदरल्यान्ड्सले डकवर्थ लुइस पद्धतिका आधारमा अमेरिकालाई २१ रनले पराजित गर्यो । बंगलादेश लगातार सातौं पटक र नेदरल्यान्ड्स पहिलो पटक महिला ट्वान्टी–२० विश्वकपमा पुगेका हुन् ।
बंगलादेश र नेदरल्यान्ड्सको विजयले ग्लोबल छनोटमा यी दुई टोली शीर्ष चारमा रहने पक्का गरेको हो । महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको शीर्ष चारमा रहने टोलीले जुन–जुलाईमा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान पाउने प्रावधान रहेको थियो ।
सुपर सिक्सको पहिलो दिनको खेलमा बंगलादेशले माथिल्लो मूलपानीमा निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ६५ रन बनायो । ओपनर जुएइरिया फर्डोउसले ४५ बलमा ५६ र शोभाना मोस्टरीले ४२ बलमा ५९ रन बनाएपछि बंगलादेशले विशाल स्कोर बनाएको थियो । थाइल्यान्डकी थिपात्चा पुथावोङले ४ ओभरमा २२ रन खर्चेर ३ र ओनिचा कामचोम्फुले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।
ओपनर नथ्थाकन चान्थमले ४१ बलमा ७ चौका प्रहार गरी ४६ रन बनाए पनि थाइल्यान्डले ८ विकेट गुमाई १ सय २६ रनमात्र बनाउन सक्यो । कप्तान नारुइमोल चाइवाइले २८ बलमा ३ चौका प्रहार गरी ३० रन बनाइन् । बंगलादेशकी मरुफा अक्तरले ३ तथा रितु मोनी र शोर्ना अक्तरले २–२ विकेट लिइन् ।
कीर्तिपुरमा भएको खेल वर्षाले प्रभावित रह्यो । पहिला ब्याटिङ गरेको अमेरिकाले ७ विकेट गुमाई १ सय २९ रनमात्र बनाउन सकेको थियो । नेदरल्यान्ड्स १२ ओभरमा २ विकेट गुमाई ९० रनको मजबुत स्थितिमा रहेको समयमा खेल वर्षाले रोकिएको थियो । सो स्थितिमा २१ रनले अगाडि रहेको अवस्थामा नेदरल्यान्ड्स विजयी हुँदै विश्वकपमा पुगेको हो ।
हिथर सिगर्सले १२ बलमा २८ र फेबे मोल्केनबोइरले ४३ बलमा ४६ रन बनाउँदै नेदरल्यान्ड्सले विजयी दिलाए । महिला एकदिवसीय विश्वकप चार पटक खेलिसकेको नेदरल्यान्ड्सले पहिलो पटक ट्वान्टी–२० विश्वकप खेल्न लागेको हो ।
बंगलादेश र नेदरल्यान्ड्सको सुपर सिक्समा ६–६ अंक छ । समूहचरणबाट ४ अंक बोकेर आएकाले यी दुई टोलीलाई सुपर सिक्सको पहिलो खेलबाट विश्वकपमा पुग्न सजिलो भएको थियो । स्कटल्यान्डको ४ र आयरल्यान्डको २ अंक छ । अमेरिका र थाइल्यान्ड अंकविहीन छन् ।
दिनको अर्को खेलमा स्कटल्यान्डले आयरल्यान्डलाई ३९ रनले पराजित गर्दै विश्वकपको नजिक पुगेको छ । कीर्तिपुरमा पहिला ब्याटिङ गर्दै स्कटल्यान्डले ५ विकेट गुमाई १ सय ६० रन बनायो । जवाफमा आयरल्यान्ड १९.२ ओभरमा १ सय २१ रनमा अलआउट भयो । क्याथ्रिन ब्रिसले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिई प्लेयर अफ द म्याच बनिन् ।
