यही माघ २८ देखि फागुन ६ सम्म तल्लो मूलपानी मैदानमा प्रतियोगिता आयोजना गरिने आयोजक प्याब्सन काठमाडौंले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
What you should know
काठमाडौँ — प्याब्सन काठमाडौंले १५ वर्षमुनिका खेलाडीको लागि प्याब्सन क्रिकेट लिग (पीसीएल यू–१५) आयोजना गर्ने भएको छ ।
यही माघ २८ देखि फागुन ६ सम्म तल्लो मूलपानी मैदानमा प्रतियोगिता आयोजना गरिने आयोजक प्याब्सन काठमाडौंले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । ट्वान्टी–२० फर्म्याटमा हुने प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइने छ । त्यसमा आठ टिमले प्रतिस्पर्धा गर्नेछ । सात प्रदेशको टोली र आयोजक टोलीको सहभागिता रहनेछ ।
यो राष्ट्रिय स्तरको अन्तरप्रदेशीय विद्यालय क्रिकेट प्रतियोगिताको रूपमा रहने प्याब्सनले जनाएको छ । विद्यालय क्रिकेटलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धात्मक बनाएर प्रतिभाशाली विद्यार्थी खेलाडीलाई प्रदेश हुँदै राष्ट्रिय क्रिकेटमा पुर्याउने लक्ष्य रहेकाले हरेक वर्ष क्यालेन्डरमा समेटेर आयोजना गरिने आयोजक प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले जानकारी गराए । उनले भने, ‘पीसीएललाई राष्ट्रिय विद्यालय क्रिकेट लिग बनाउने लक्ष्य हो । यसलाई क्यानकै वार्षिक क्यालेन्डर समावेश गरी हरेक वर्ष आयोजना गरिनेछ ।’
प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । हरेक खेलका म्यान अफ द म्याच खेलाडीले २ हजार ५ सय, उत्कृष्ट ब्याटर र बलरले जनही ५ हजार तथा सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका संयोजक धनबहादुर पुनले बताए । प्रतियोगिताको अनुमानित बजेट ८० लाख रुपैयाँ रहेको बताइएको छ ।
नेपाल क्रिकेट संघका लाइसेन्सप्राप्त अम्पायरबाट सञ्चालन गरिने जनाइएको छ । लिगलाई काठमाडौं जिल्ला क्रिकेट संघको साथ रहनेछ ।
