मधेश प्रदेशमा सूर्य नेपाल गल्फ टुरको प्रतियोगिता हुन लागेको पहिलो पटक हो ।
काठमाडौँ — यस सिजनको सूर्य नेपाल गल्फ टुरअन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप मंगलबारदेखि बर्दिबासस्थित नवनिर्मित मिथिला नगरी आर्मी गल्फ क्लबमा हुने छ ।
मधेश प्रदेशमा सूर्य नेपाल गल्फ टुरको प्रतियोगिता हुन लागेको पहिलो पटक हो । नवनिर्मित यो गल्फ क्लबमा पहिलो पटक प्रो गल्फर प्रतिस्पर्धामा उत्रँदैछन् । त्यसले गर्दा उनीहरूमा नयाँ गल्फ कोर्समा खेल्ने चुनौती रहनेछ ।
कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको प्रतियोगिता विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः १ लाख २५ हजार र १ लाख रुपैयाँ हात पार्नेछन् । शीर्ष १८ स्थानभित्र पर्ने खेलाडी पुरस्कारको हकदार बन्नेछन् ।
नेपाल नम्बर एक प्रो गल्फर तथा सूर्य नेपाल इस्टर्न ओपनका विजेता नीरज तामाङ प्रमुख दाबेदारका रूपमा रहनेछन् ।
भुवन नगरकोटी, धन थापा, दिनेश प्रजापति र जयराम श्रेष्ठ दाबेदारको सूचीमा छन् । तीन दिने प्रतियोगिता ५४ होलको हुनेछ । त्यसमा ३१ प्रोफेसनल गल्फर र ह्यान्डिक्याप ५ वा सोभन्दा कम भएका ६ एमेच्योर गल्फरले सहभागिता जनाउने छन् । ३६ होलको समाप्तिपछि कट लागू हुनेछ । शीर्ष १८ प्रो र एमेच्योर गल्फर फाइनल राउन्डमा पुग्ने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले जनाएको छ ।
सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत कुल ८ प्रतियोगिता हुनेछ । यसअघि पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन एमेच्योर खेलाडी राहुल विश्वकर्मा र दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन नीरज तामाङले जितेका थिए ।
