एक्सेल्सियर कप बुधबारदेखि सुरु

बास्केटबलको तीन विधामा २६ र फुटसलको ४ विधामा ५६ टिमको सहभागिता निश्चित भएको एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

माघ १३, २०८२

कान्तिपुर संवाददाता

Excelsior Cup starts on Wednesday

काठमाडौँ — द एक्सेल्सियर स्कुलको आयोजनामा बुधबारदेखि १२ औं एक्सेल्सियर कप खेलकुद हुने भएको छ ।

बास्केटबलको तीन विधामा २६ र फुटसलको ४ विधामा ५६ टिमको सहभागिता निश्चित भएको एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

बास्केटबलको सिनियर ब्वाइज/गर्ल्समा सम न १०–१० तथा यू–१२ गर्ल्समा ६ टिम सहभागी हुनेछन् । सिनियर ब्वाइज/गर्ल्समा कक्षा १० तथा यू–१२ मा कक्षा ६ सम्म अध्ययनरतले सहभागी हुन पाउने एक्सेल्सियरका बास्केटबल प्रशिक्षक आशिष महर्जनले जानकारी दिए । सिनियर ब्वाइजमा भ्याली भ्यु र सिनियर गर्ल्समा स्वर्णिम गत संस्करणका च्याम्पियन हुन् ।

छात्रा खेलाडी सहभागितालाई व्यापक बनाउँदै उनीहरूलाई अझ प्रोत्साहित गर्ने उद्देश्यले यू–१२ विधा पहिलो पटक थपिएको प्रिन्सिपल रजकले बताए ।

‘फाइभ ए साइड’ स्वरुपको ब्वाइज फुटसलमा विभिन्न चार उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । यू–९ मा ८, यू–११ मा १७, यू–१३ मा १८ र यू–१६ मा १३ टिमले प्रतिस्पर्धा गर्नेछन् । यू–९ मा राई स्कुल, यू–११ मा स्वस्तिश्री गुरुकुल, यू–१३ मा एक्सेल्सियर र यू–१६ मा रिब्स डिफेन्डिङ च्याम्पियन हुन् ।

प्रतियोगिता संयोजक एक्सेल्सियरका खेलकुद इन्चार्ज महेश मल्ल ठकुरीले विद्यार्थीको चौतर्फी क्षमता अभिबृद्धि गर्न विद्यालयले शिक्षासँगै खेलकुद र अत्तिरिक्त क्रियाकलापमा विशेष जोड दिइरहेको बताए ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख रुपैयाँ खर्च हुनेछ । प्रतियोगिताका खेल स्वयम्भूस्थित आयोजककै हातामा हुनेछ ।

कान्तिपुर

Link copied successfully