निस्दी झ्याल्टुङ खेल मैदानमा भएको प्रतियोगितामा अंशुवर्माले ५ स्वर्ण, ३ रजत र १ कास्य पदकसहित पहिलो भएको हो ।
पाल्पा — निस्दी गाउँपालिकास्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अंशुवर्मा माध्यमिक विद्यालय निस्दी–२, सहलकोट पहिलो भएको छ ।
निस्दी झ्याल्टुङ खेल मैदानमा भएको प्रतियोगितामा अंशुवर्माले ५ स्वर्ण, ३ रजत र १ कास्य पदकसहित पहिलो भएको हो । दोस्रो भएको गौरीशंकर माध्यमिक विद्यालय निस्दी–४, मित्यालले ४ स्वर्ण, १ रजत र ८ कास्य पदक जितेको छ ।
निस्दी–५,गल्धास्थित जनता माध्यमिक विद्यालयले ३ स्वर्ण, १ रजत र ३ कास्यसहित तेस्रो भएको शिक्षा शाखा प्रमुख नरबहादुर थापाले जानकारी दिए । छात्रछात्रातर्फ ९/९ विद्यामा प्रतिस्पर्धा गराइएको थियो ।
निस्दी गाउँपालिकाका १२ माध्यमिक विद्यालयहरुले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु, उपाध्यक्ष तिरनकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर चितौरे लगायतले सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरे ।
गाउँपालिका अध्यक्ष सारुले निस्दीमा खेलकुदको माध्यमबाट आफ्नो गाउँ–ठाउँ र राष्ट्रका लागि योगदान गर्न सक्ने बताए । ‘खेलकुदले अनुशासित हुन र सामूहिक कार्य गर्न सिकाउँछ,’ उनले भने । सोही अवसरमा बालमैत्री शाखाले आयोजना गरेको गाउँपालिकाको आधारभूत तह स्तरीय निबन्ध लेखन प्रतियोगितामा जीवनज्योति आधारभूत विद्यालयका सुवेच्छा सोती पहिलो भइन् ।
जनप्रिय मावि ज्यामिरेका तिर्सना गाहा दोस्रो र सिन्दुर आधारभूत विद्यालय अर्चलेका खुशी दर्लामी तेस्रो भएको शाखा प्रमुख कुस्माखर पाण्डेयले बताए ।
