१५औं खुम्बु ल्होसार कप माघ २४ देखि 

शेर्पा समुदायको प्रमुख पर्व ल्होसार (नयाँ वर्ष)को अवसरमा आयोजना गरिँदै आएको प्रतियोगिताको यो १५औं संस्करण हो ।

माघ १३, २०८२

कान्तिपुर संवाददाता

15th Khumbu Lhosar Cup from Magh 24

काठमाडौँ — शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु ल्होसार कप–२०२६ माघ २४ गतेदेखि हुने भएको छ । 

शेर्पा समुदायको प्रमुख पर्व ग्याल्बो ल्होसार (नयाँ वर्ष)को अवसरमा आयोजना गरिँदै आएको प्रतियोगिताको यो १५औं संस्करण हो ।

विगत १८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको खुम्बु ल्होसार कप यसपटक महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरमको आयोजनामा हुन लागेको हो । प्रतियोगिता माघ २४ देखि फागुन ३ गतेसम्म सञ्चालन हुनेछ । खेलहरू सातदोबाटोस्थित एन्फा फुटबल मैदानमा आयोजना हुने आयोजकले जनाएको छ ।

काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष फुर ग्याल्जे शेर्पाले खुम्बु पासाङल्हामु गाउँपालिकाका विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा बसोबास गरिरहेका शेर्पा युवाहरूले जाडोयामको फुर्सदिलो समयको सदुपयोग गर्ने उद्देश्यले सन् २००९ मा ल्होसारको अवसरमा यो प्रतियोगिता सुरु गरेको बताए । उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य शेर्पा युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउनु, उनीहरूको प्रतिभा उजागर गर्नु र समुदायबीच एकता मजबुत बनाउनु हो । 

प्रतियोगिताले प्रतिस्पर्धात्मक खेल वातावरण सिर्जना गर्नुका साथै फुटबल अभ्यासलाई प्रोत्साहन गर्दै आएको उनले बताए । प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ ।

कान्तिपुर

Link copied successfully