एसपीएका प्रबन्ध निर्देशक सुवास शाहीले सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिमको क्रिकेट विकासका लागि मुख्य प्रायोजन गरेको बताए ।
धनगढी — धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) र सुदूरपश्चिम प्रादेशिक क्रिकेट टिमबीच तीन वर्ष मुख्य प्रायोजन रहने गरी सम्झौता भएको छ ।
एसपीएका प्रबन्ध निर्देशक सुवास शाहीले सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिमको क्रिकेट विकासका लागि मुख्य प्रायोजन गरेको बताए । 'यो साझेदारीमार्फत सुदूरपश्चिम प्रदेशमा क्रिकेट खेलको विकास, प्रवर्द्धन, व्यवस्थापन तथा खेलाडी उत्पादनका कार्यक्रमलाई सुदृढ बनाउने लक्ष्य राखेका छौं ।'
प्रबन्ध निर्देशक शाहीले भने, 'सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँगको यो सहकार्यले नेपाली क्रिकेटको भविष्यलाई थप सशक्त बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धि हासिल हुने विश्वास लिएका छौं ।'
सम्झौताले सुदूरपश्चिमका प्रतिभावान् खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर प्राप्त हुने र प्रदेशका खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले बताए । 'प्रदेश स्तरीय क्रिकेटका विभिन्न गतिविधि सञ्चालनका लागि तीन वर्षका लागि एसपीएले आवश्यक आर्थिक सहयोग प्रदान गर्ने भएका कारण यो प्रदेशलाई क्रिकेटमय बनाउन यसले मद्धत मिलेको छ ।'
संघका अध्यक्ष जोशीले भने, 'आगामी दिनमा पनि क्रिकेटको ग्रासरुटका गतिविधिसँगै नयाँ खेलाडी उत्पादनतिर पनि हामी लाग्छौं ।'
सम्झौता अनुसार सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिता खेल्ने महिला तथा पुरुष खेलाडीले एसपीए कलेजमा शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गर्न पाउने छन् ।
यस्तै, प्रदेशका जिल्लाहरूको प्रतिनिधित्व गर्दै क्षेत्रीय प्रतियोगिता खेल्ने खेलाडीहरूले ५० प्रतिशत छात्रवृत्ति सुविधा पाउने छन् ।
