छैटौं टाइगर कप : तेस्रो हारसँगै आर्मी बाहिरियो, एपीएफको जित

लगातार तेस्रो हार बेहोरेपछि आर्मी उपाधि होडबाट टाढिएको हो ।

माघ १२, २०८२

दीपक परियार

Sixth Tiger Cup: Army out with third loss, APF wins

पोखरा — पोखरामा जारी एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ त्रिभुवन आर्मी क्लब फाइनल दौडबाट बाहिरिएको छ ।

लगातार तेस्रो हार बेहोरेपछि आर्मी उपाधि होडबाट टाढिएको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार बिहान भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)सँग आर्मी ३–० को सोझो सेटमा पराजित भयो ।

एपीएफले खेलको सुरुवआतदेखि नै दबाब बनाउँदै पहिलो सेट २५–११, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्‍यो ।

यसअघि आर्मी पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लब र दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । आर्मीले आफ्नो अन्तिम खेल मंगलबार थाइल्यान्ड क्विन्ससँग खेल्नेछ।

एपीएफले भने च्याम्पियनसिपमा दोस्रो जित दर्ता गरेको छ । एपीएफले पहिलो खेलमा थाइल्याण्न्ड क्विन्सलाई पाँचौं सेटसम्म लम्बिएको प्रतिस्पर्धामा हराएको थियो भने दोस्रो खेलमा न्यु डायमन्डसँग पराजित भएको थियो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा १७ माघसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउन्ड रोविनको आधारमा शीर्ष दुई टोली फाइनलमा पुग्ने प्रावधान छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully