नेपाल तेक्वान्दो संघको आयोजनामा हुने प्रतियोगितामा २० राष्ट्रका करिब १ हजार ५ सय खेलाडीको सहभागिता रहनेछ ।
What you should know
काठमाडौँ — चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लूटी जी वान) तथा दोस्रो माउन्ट एभरेस्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता (डब्लूटी जी वान) फागुन १ देखि हुने भएको छ ।
नेपाल तेक्वान्दो संघको आयोजनामा हुने प्रतियोगितामा २० राष्ट्रका करिब १ हजार ५ सय खेलाडीको सहभागिता रहनेछ ।
तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दले आइतबार पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार विदेशी खेलाडीमा ५ सय हाराहारी भारतीय हुनेछन् । ‘तेक्वान्दोको वरीयता प्राप्त प्रतियोगिता भएकाले ओलम्पिकलाई लक्षित गरेर विभिन्न देशका राष्ट्रिय टोलीका खेलाडीहरू खेल्न आउनेछन्,’ चन्दले भने ।
नेपाल र भारतसहित पाकिस्तान, श्रीलंका, हङकङ, चिली, सिंगापुर, मोरोक्को, केन्या, जापान, थाइल्यान्ड, पोर्चॅगल, अस्ट्रेलिया, इजिप्टलगायतका देशका खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाउने भएको आयोजकको भनाइ छ ।
विदेशी खेलाडी आफ्नै खर्चमा आउनु र बस्नुपर्नेछ । प्रतियोगिता आयोजनाका लागि तेक्वान्दो संघले विश्व तेक्वान्दोलाई १० हजार डलर शुल्क तिर्नुपर्नेछ । विदेशी खेलाडीले सहभागी हुन ८० डलर शुल्क तिर्नुपर्नेछ भने नेपाली खेलाडीको हकमा ६ हजार तोकिएको छ । त्यस्तै ४० जना विदेशी निर्णायक पनि आउने आयोजकले जनाएको छ ।
गेरोगी (फाइट) र पुम्से (फर्म) तर्फ जम्मा ७४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । दुवै विधाका क्याडेट (१२–१४ वर्ष) देखि सिनियर (१८ र सोभन्दा माथि) तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ को विशेष प्रशिक्षणमा रहेका नेपाली खेलाडी पनि सहभागी हुने आयोजक संघका सदस्य कुमार लामा घिसिङले बताए । राष्ट्रिय टोलीबाहेकका खेलाडीलाई प्रतियोगिता खुला रहेको छ ।
उपाध्यक्ष चन्दले प्रतियोगिता सञ्चालन गर्न करिब ३ करोड खर्च लाग्ने बताए । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक संघका सल्लाहकार परिषद्का अध्यक्ष एवं तेक्वान्दो संघका पूर्वअध्यक्ष प्रकाशशमशेर राणाको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न १३ उपसमिति पनि गठन गरिएको छ । ६ दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेलाइनेछ ।
प्रत्येक २ वर्षमा आयोजना हुनुपर्ने माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दोको पहिलो संस्करण २०११ र दोस्रो संस्करण २०१३ मा आयोजना भएका थिए । त्यसपछि तेस्रो संस्करण २०२२ मा पोखरामा भएको थियो । विभिन्न प्राकृतिक विपत्तिका कारण प्रतियोगिता नियमित हुन नसकेको जनाउँदै उपाध्यक्ष चन्दले भने, ‘अब हामी निरन्तर प्रतियोगिता आयोजना गर्नेछौं ।’
