स्पोर्ट्स समिट माघ २२ (फेब्रुअरी ५) मा होटल सोल्टीमा आयोजना गरिने आयोजक कमिटीले जनाएको छ ।
What you should know
काठमाडौँ — नेपाल स्पोर्ट्स समिट कमिटीले नेपाल स्पोर्ट्स समिट गर्ने घोषणा गरेको छ ।
स्पोर्ट्स समिट माघ २२ (फेब्रुअरी ५) मा होटल सोल्टीमा आयोजना गरिने आयोजक कमिटीले जनाएको छ । समिटमा नेपालको खेल क्षेत्रसँग सम्बन्धित नीति, पूर्वाधार, सञ्चार, डिजिटल सामग्री र अन्तर्राष्ट्रिय सहकार्यका विषयहरूमा केन्द्रित पाँच उच्चस्तरीय प्यानलमा छलफल सत्र सञ्चालन गरिने जनाइएको छ ।
सत्रहरूमा खेल कूटनीति, खेल पूर्वाधार विकास, उदीयमान खेलहरूको विकास, खेल सञ्चार तथा प्रसारणको भूमिका र डिजिटल खेल सामग्री तथा इन्फ्लुएन्सरमार्फत खेल कथनवाचन जस्ता विषयहरू समेटिने आयोजकमध्येका एक भाष्कर राजकर्णिकारले बताए ।
स्पोर्ट्स समिटको मुख्य उद्देश्य नेपाललाई विश्वस्तरीय खेल पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नु, अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नु र नेपालको खेल अर्थतन्त्र सुदृढ बनाउने दिगो साझेदारी निर्माण गर्नु रहेको राजकर्णिकारले बताए ।
समिटका अर्का आयोजक आमिर अख्तरले नेपाल स्पोर्ट्स समिट केवल एउटा कार्यक्रम नभई खेल, कूटनीति, पर्यटन र आर्थिक विकासलाई एकीकृत गर्ने राष्ट्रिय अभियान भएको बताए । उनले समिटको उद्देश्य नेपालको खेल इकोसिस्टमलाई विश्वव्यापी अवसरसँग जोड्दै अन्तर्राष्ट्रिय सहकार्यमार्फत देशको खेल भविष्यलाई रूपान्तरण गरेको स्पष्ट पारे ।
नेपालको खेलकुद फरक कालखण्डमा प्रवेश गरिरहेको उल्लेख गर्दै राजकर्णिकारले नेपाली खेलकुदलाई व्यावसायिक मार्गमा प्रवेश गराउनु आजको आवश्यकता भएको बताए । उनले एनएसएस २०२६ ले नेपालको खेल अर्थतन्त्रलाई सुदृढ बनाउन दिगो साझेदारी निर्माण गर्नु रहेको बताए । विश्व अर्थतन्त्रमा खेल अर्थतन्त्रले दुई प्रतिशतभन्दा बढी हिस्सा ओगटेको सन्दर्भ राख्दै उनले भने,'नेपालको अर्थतन्त्रमा पनि खेल अर्थतन्त्रको हिस्सा पुर्याउन यो समिट आयोजना गर्दै छौं ।'
नेपाल स्पोर्ट्स समिटमा कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय मिसन, कर्पोरेट नेतृत्व, विश्वव्यापी लगानीकर्ता, सरकारी अधिकारी, नीति निर्माता, अन्तर्राष्ट्रिय प्रतिनिधि तथा खेल उद्योगका विभिन्न सरोकारवाला पक्षहरूको सहभागिता रहने जनाइएको छ । समिटमा विश्व क्रिकेट हस्ती कपिल देव पनि आउने आयोजकले जनाएको छ ।
