छैटौं टाइगर कप भलिबल : पर्वत, पुलिस, न्यु डायमन्ड र थाइल्यान्ड क्विन्स विजयी

महिलातर्फ पाहुना टोली थाइल्यान्ड क्विन्सले पुनरागमन जित निकालेको छ । आइतबारको खेलमा थाइल्यान्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित गर्‍यो ।

माघ ११, २०८२

दीपक परियार

6th Tiger Cup Volleyball: Parbat, Police, New Diamond and Thailand Queens win

What you should know

पोखरा — पोखरामा जारी छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा आइतबार पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघ र पुलिस, महिलातर्फ न्यु डायमन्ड र थाइल्यान्ड क्विन्स विजयी भएका छन् ।

पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघले लगातार दोस्रो जित दर्ता गरेको हो । पोखरा रंगशाला भलिबल कोर्टमा जारी प्रतियोगितामा आइतबार पर्वतले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो । तीन पाकिस्तानी खेलाडीसहित टिप टप हेल्प नेपालका खेलाडीलाई लिएर मैदानमा उत्रिएको पर्वतले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको थियो । त्यसपछिका दुई सेटमा पुनरागमन जित निकाल्दै पर्वतले जित सुनिश्चित गर्‍यो । पर्वतले तेस्रो सेट २५–१९ र चौंथो सेट २५–१५ ले जित निकालेको हो ।

यसअघि पर्वतले आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित गरेका थियो । एपीएफले भने पहिलो खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै सुखद सुरुवात गरेको थियो ।

6th Tiger Cup Volleyball: Parbat, Police, New Diamond and Thailand Queens win

पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २२–२५ र दोस्रो सेट १६–२५ ले गुमाएको आर्मीले तेस्रो सेटमा २५–२१ ले जित निकाल्दै खेलमा फर्किने कोसिस गरे पनि सफल हुन सकेन । चौंथो सेटमा पुलिसले २५–१५ ले जित निकाल्दै आर्मीलाई पहिलो हार चखायो ।

महिलातर्फ पाहुना टोली थाइल्यान्ड क्विन्सले पुनरागमन जित निकालेको छ । आइतबारको खेलमा थाइल्यान्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित गर्‍यो । पहिलो दुई सेट गुमाएको थाइल्यान्डले पछिल्ला तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित दर्ता गर्न सफल भयो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२० ले जित निकालेको थियो । तर, त्यसपछिका सेटमा पुलिस सम्हालिन सकेन । थाइल्यान्डले तेस्रो सेट २५–२३, चौंथो सेट २५–१४ र पाँचौं सेट १६–१४ ले जित निकाल्यो ।

6th Tiger Cup Volleyball: Parbat, Police, New Diamond and Thailand Queens win

पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग पाँचौं सेटमा पराजित भएको थाइल्यान्डले दोस्रो खेलमा पाँचौं सेटमा पुगेर जित निकालेको हो । आज पराजित भएको पुलिसले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

प्रतियोगितामा महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लबले सहज जित दर्ता गरेको छ । न्यु डायमन्डले विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) माथि ३–० को सोझो सेटको जित दर्ता गरेको हो । न्यु डायमन्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्‍यो । खेलको प्लेयर अफ द म्याच न्यु डायमन्डकी सुमित्रा रेग्मी घोषित भइन् । न्यु डायमन्डको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा न्यू डायमन्डले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो । एपीएफले भने पहिलो हार बेहोरेको छ । यसअघि एपीएफले थाइल्यान्ड क्विन्सलाई पाँचौं सेटमा पराजित गरेको थियो ।

6th Tiger Cup Volleyball: Parbat, Police, New Diamond and Thailand Queens win

च्याम्पियनसिपअन्तर्गत चौंथो दिन सोमबार ३ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ बिहान १० बजे एपीएफ र आर्मीबीच हुनेछ । त्यसपछि पुरुषतर्फ एपीएफ र माल्दिभ्स भलिबल एसोसिएसन भिड्ने छन् । सोमबारको अन्तिम खेल गण्डकी प्रदेश र आर्मीबीच हुनेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा १७ माघसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउन्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully