लिगमा लालीगुराँसले दमदार सुरुआत कायम राख्ने क्रममा दशरथ रंगशालामा नेपाल पुलिस क्लबको चुनौती १–० ले पन्छाएको थियो ।
What you should know
काठमाडौँ — पोखरेली टोली लालीगुराँस एसोसिएसन क्लबले राष्ट्रिय लिग फुटबलमा शुक्रबार लगातार तेस्रो जित हात पारेको छ । टोली ९ अंकसहित शीर्षस्थानमा कायम रह्यो ।
लिगमा लालीगुराँसले दमदार सुरुआत कायम राख्ने क्रममा दशरथ रंगशालामा नेपाल पुलिस क्लबको चुनौती १–० ले पन्छाएको थियो । खेल बराबरीतर्फ अग्रसर भइरहेका बेला लालीगुराँसका लागि आशिष चौधरीले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा निर्णायक गोल गरेका थिए ।
लालीगुराँसले तीनमध्ये दुई खेलमा क्लिनसिट पनि कायम राखेको छ । कमजोर पुलिसको यो तेस्रो खेलमा दोस्रो हार हो । टिम एकै अंकमा सीमिते छ ।
दशरथ रंगशालामै भएको अर्को खेलमा सातदोबाटो युथले प्रतियोगितामै आफ्नो पहिलो जित निकाल्यो । टोलीले मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले हरायो । सातदोबाटोलाई पहिलो जित दिलाउने क्रममा नायक रहे, फोडे फोफाना । उनले ६१ औं मिनेटमा एकमात्र गोल गरे ।
यो जितले सातदोबाटोको ४ अंक भएको छ । घरेलु फुटबलका सर्वाधिक सफल क्लबको इतिहास बोकेको मनाङको भने यो लगातार तेस्रो हार हो । निराशाजनक रूपमा मनाङ अंकविहीन छ । अहिलेसम्मको खेलपछि काँक्रेबिहार र नव जनजागृति पनि अंकविहीन अवस्थामा छ । तर जसरी आठपल्टको सहिद स्मारक लिग ‘ए’ डिभिजन विजेता मनाङले अहिले खेलिरहेको छ, त्यो धेरैका लागि अस्वीकार्य रहनेछ । अबका खेलमा प्रदर्शन सुधार भएन भने मनाङको यात्रा अझ कठिन हुन सक्नेछ ।
त्यसअगाडि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा श्री भगवतीले नव जनजागृतिलाई ५–१ ले हराएको थियो । भगवतीको पनि पहिलो जित हो । टोलीको ४ अंक भएको छ । नव जनजागृतिको लगातार तेस्रो हार हो । भगवतीका लागि शिशिर लेखीले दुई गोल गरे । उनले ३८ र ४२ औं मिनेटमा गोल गरेका हुन् । त्यसमध्ये पहिलो गोल पेनाल्टीबाट सम्भव भयो ।
भगवतीले दोस्रो मिनेटमा अजयी मार्टिन्सको गोलबाट अग्रता लिएको थियो । सुभाष बमले ४२ औं मिनेटमा टिमका लागि तेस्रो गोल गरे । यो प्रतियोगिताकै ५० औं गोल रह्यो । सीमान्त थापाले ५४ औं मिनेटमा चौथो गोल गरे । नव जनजागृतिबाट विक्रम थोकरले ७७ औं मिनेटमा गोल फर्काए, जुन सान्त्वनामा सीमित भयो ।
