छैटौं टाइगर कप भलिबल : माल्दिभ्सलाई हराउँदै गण्डकीको सशक्त प्रदर्शन

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताको पुरुषतर्फ शनिबार सम्पन्न खेलमा गण्डकीले माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको हो ।

माघ १०, २०८२

दीपक परियार

6th Tiger Cup Volleyball: Gandaki's strong performance defeats Maldives

पोखरा — एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एसोसिएसनलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताको पुरुषतर्फ शनिबार सम्पन्न खेलमा गण्डकीले माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको हो । खेलमा गण्डकीले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२१ ले जित्दै पूर्ण नियन्त्रण देखायो ।

यसअघि शुक्रबार पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) सँग ३–१ को सेटमा पराजित भएको गण्डकीका लागि यो प्रतियोगिताको पहिलो सफलता हो । उता माल्दिभ्स भने लगातार दोस्रो खेलमा पराजय भोग्न बाध्य भयो । यसअघि माल्दिभ्स त्रिभुवन आर्मी क्लबसँग ३–० को सेटमा पराजित भएको थियो ।

शनिबार नै महिलातर्फ सम्पन्न खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको छ । महिलातर्फकै अर्को खेलमा एपीएफले थाइल्यान्ड क्विन्सलाई ३–२ को सेटमा रोमाञ्चक रूपमा पराजित गर्‍यो ।

शनिबारको अन्तिम खेलमा पुरुषतर्फ नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबीच प्रतिस्पर्धा जारी छ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully