नेपालको टेस्ट राष्ट्रमाथि पहिलो जित

नेपालले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा शनिबार पूर्ण राष्ट्र जिम्बावेलाई ६ विकेटले पराजित गर्‍यो ।

माघ १०, २०८२

विनोद पाण्डे

Nepal's first win over a Test nation

What you should know

काठमाडौँ — नेपालको राष्ट्रिय क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि पहिलो विजय हात पारेको छ । नेपालले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा शनिबार पूर्ण राष्ट्र जिम्बावेलाई ६ विकेटले पराजित गर्‍यो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको जिम्बावेले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २९ रन बनाएको थियो । उपकप्तान पूजा महतोले अविजित अर्धशतक बनाएपछि नेपालले ३ बल अगाडि १ सय ३३ रन बनायो । पूजाले ५० बल खेली ४ चौका र २ छक्कासहित ५२ रन बनाइन् ।

नेपालको यस जितले सुपर सिक्समा पुग्ने झिनो आशालाई कायम राखेको छ । पहिलो पटक ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा खेलिरहेको नेपाल पहिलो जित हात पारेको हो । नेपाल पहिलो दुई खेलमा थाइल्यान्डसँग ८ विकेटले र नेदरल्यान्ड्ससँग २ रनले पराजित गरेको थियो ।

नेपाललाई विजय दिलाउन जिम्बावेको अनियन्त्रित बलिङले पनि ठूलो सहयोग गरेको थियो । नेपालले अतिरिक्तमा २० रन पाएको थियो, जसमा जिम्बावेका बलरले वाइडमा १९ दिएका थिए ।

Nepal's first win over a Test nation

सम्झना खड्का ७ बलमा १ चौका प्रहार गरि ९ र विन्दु रावल १७ बलमा २ चौका प्रहार गरी १५ रनमा आउट भइन् । त्यसपछि कप्तान इन्दु बर्मा र उपकप्तान पूजा महतोले तेस्रो विकेटमा ३५ रनको महत्त्वपूर्ण साझेदारी गरिन् । जोसेफिन एनकोमोको बलमा एज लागेर बोल्ड भएकी इन्दुले २२ रन बनाइन् । इन्दुले २३ बल खेली २ चौका र १ छक्का प्रहार गरिन् ।

कविता जोशी पनि १ रनमा बोल्ड भइन् । सीता रानामगर ११ रनमा रिटायर्ड हर्ट भइन् । उनले सो क्रममा महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिमा एक हजार रन पूरा गरिन् । यो सफलता पाउने उनी नेपालकी तेस्रो खेलाडी हुन् । यसअघि इन्दु र पूजाले नेपालबाट १ हजार रन बनाइसकेकी छन् । रुविना क्षेत्री २ रनमा अविजित रहिन् ।

यसअघि केलिस ध्लोभुले अविजित ५२ रन बनाउँदै जिम्बावेलाई मध्यम स्कोरमा उभ्याएकी थिइन् । उनले ३६ बल खेली ८ चौका प्रहार गरिन् । ओपनर विलोभ्ड बिजाले ३४ रन जोडिन् । उनले ३५ बल खेलि ४ चौका प्रहार गरिन् ।

उनका ओपनिङ जोडि कप्तान चिपो मुगेरी ट्रिपानोले ८ रन जोडिन् । कविता कुँवरले खेलको पहिलो बल वाइड फालेकी थिइन् । त्यसपछिको दुई बलमा ट्रिपानोले एजमा दुई चौका प्रहार गरिन् । तर तेस्रो बलमा कविताले उनलाई बोल्ड गरेकी थिइन् ।

मोडेस्टर मुपाचिकवाले २६ बल खेलि १४ रन बनाइन् । लोरिन सुमाले खाता खोल्न सकिनन् भने जोसेफिन एनकोमो ६ र चिइद्जा धुरुरु ४ रनमा आउट भइन् । नेपालबाट रिया शर्माले २ विकेट लिइन् । उनले ४ ओभरमा २५ रन खर्चेकी थिइन् । कविता कुँवर, सीता रानामगर, रुविना क्षेत्री र पूजा महतोले १–१ विकेट लिइन् ।

जिम्बावे समूह चरणका सबै चार खेलमा पराजित भएको हो । जिम्बावे यस प्रतियोगितामा नेदरल्यान्ड्स, थाइल्यान्ड र स्कटल्यान्डसँग पराजित भएको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully