शनिबारको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्यो।
पोखरा — पोखरा रंगशालामा जारी एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको दोस्रो दिन शनिबार महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ।
शनिबारको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्यो। पुलिसले पहिलो जित निकाल्दा आर्मीले लगातार दोस्रो हार बेहोरेको छ।
पहिलो सेट २५–१६ ले जित निकालेको आर्मी त्यसपछिका सेटमा सम्हालिन नसक्दापराजित हुनुपर्यो । पुलिसले दोस्रो सेट २५–१७, तेस्रो सेट २५–२२ र चौंथो सेट २५–१३ ले आफ्नो पक्षमा पार्यो । पुलिसकी एलिसा मानन्धर प्लेयर अफ द म्याच घोषित भइन्।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा १७ माघसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् । सिंगल राउन्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन्।
