प्रतियोगिताको दोस्रो दिन शनिबार पोखरा रंगशाला भलिबल कोर्टमा भएको दोस्रो खेलमा एपीएफले थाइल्यान्ड क्विन्समाथि ३-२ को रोमाञ्चक जित निकालेको हो।
पोखरा — पाहुना टोली थाइल्यान्ड क्विन्समाथि सशस्त्र प्रहरी बल (एपीएफ)ले पोखरामा जारी एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ रोमाञ्चक जित निकालेको छ।
प्रतियोगिताको दोस्रो दिन शनिबार पोखरा रंगशाला भलिबल कोर्टमा भएको दोस्रो खेलमा एपीएफले थाइल्यान्ड क्विन्समाथि ३-२ को रोमाञ्चक जित निकालेकोहो।
पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले तेस्रो र चौंथो सेट थाइल्यान्डलाई सुम्पियो । थाइल्यान्डले तेस्रो सेट २५–२२ र चौंथो सेट २५–२३ को रोमाञ्चक जित निकाल्दा खेल पाँचौं सेटमा धकेलियो । पाँचौं सेटमा सुरुआतबाटै अग्रता लिँदै एपीएफले १५–१३ को रोमाञ्चकजित निकाल्यो । पाँचौं सेटमा खेलमा फर्किने प्रयास गरे पनि थाइल्यान्ड सफलहुन सकेन ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा १७ माघसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् । सिंगल राउन्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।
