राष्ट्रिय उमा कुङफु च्याम्पियनसिपका स्वर्ण विजेता भूपेन्द्रले अमेरिका, युके र जर्मनीमा भएका विभिन्न ७ अन्तर्राष्ट्रिय प्रतियोगितामा १३ स्वर्ण र २ रजत पदक जितेका छन् ।
काठमाडौँ — उमा कुङफुका अन्तर्राष्ट्रिय पदक विजेता भूपेन्द्र गुरुङलाई न्युयोर्क स्टेट एसेम्ब्लीले सम्मान गरेको छ ।
खेलकुद क्षेत्रमा हासिल गरेको उपलब्धिका लागि सम्मान प्रदान गरिएको भूपेन्द्रले जनाएका छन् । मेम्बर अफ एसेम्ब्ली स्टिभन बी. रागाले भूपेन्द्रलाई उक्त सम्मान प्रदान गरे ।
राष्ट्रिय उमा कुङफु च्याम्पियनसिपका स्वर्ण विजेता भूपेन्द्रले अमेरिका, युके र जर्मनीमा भएका विभिन्न ७ अन्तर्राष्ट्रिय प्रतियोगितामा १३ स्वर्ण र २ रजत पदक जितेका छन् ।
नेपाल उमा कुङ्फु संघका उपाध्यक्षसमेत रहेका अन्तर्राष्ट्रिय निर्णायक भूपेन्द्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।
‘खेलकुदमार्फत नेपाली समुदायप्रति सेवा र योगदानको कदरस्वरूप न्युयोर्क राज्यसभाबाट यो सम्मान प्राप्त गर्न पाउँदा अत्यन्तै सम्मानित महसुस गरेको छु । यो सम्मानका लागि माननीय न्यूयोर्क राज्यसभा सदस्य स्टिभन रागाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’ सम्मानित भएपछि भूपेन्द्रले भनेका छन् ।