भारतीय किशन वडा अध्यक्ष कप च्याम्पियन

राजधानीमा शनिबार अनामगरस्थ्ति २९ वडा कार्यालयमा सम्पन्न कुल ३ लाख ३७ हजार रुपैयाँ धनराशि पुरस्कार रहेको प्रतियोगितामा भारतका १९०९ रेटेड किशनले ८ अंक, प्रोग्रेसिभ ५३.५ अंकसहित उपाधि जिते ।

माघ १०, २०८२

ध्रुव तुलाधर

Indian Kishan Ward President Cup Champion

What you should know

काठमाडौँ — प्रथम केएमसी २९ वडा अध्यक्ष कप खुला फिडे र्‍यापिड रेटिङ चेस च्याम्पियनसिपको उपाधि भारतीय खेलाडी किशन कुमारले जितेका छन् ।

राजधानीमा शनिबार अनामगरस्थ्ति २९ वडा कार्यालयमा सम्पन्न कुल ३ लाख ३७ हजार रुपैयाँ धनराशि पुरस्कार रहेको प्रतियोगितामा भारतका १९०९ रेटेड किशनले ८ अंक, प्रोग्रेसिभ ५३.५ अंकसहित उपाधि जिते ।

नवौं चरणपूर्व ६ खेलाडीको समान ७ अंक थियो । पहिलो बोर्डमा एफएम क्षितिज भण्डारीले १८३१ रेटेड महेन्द्रकुमार सम्बाहाम्फेविरुद्ध पाए । दोस्रो बोर्डमा प्रोग्रेसिभ प्वाइन्ट धेरै बनाएका राजन सुवेदी आशिष फुयाँलसँग पराजित भए । तेस्रो बोर्डमा किशन कुमारले बढी प्रोग्रेसिभ प्वाइन्ट भएका आकाश सुवेदीलाई हराएर उपाधि जिते । किशनले ३५ हजार प्राप्त गरे । नेपालका शीर्ष २११७ रेटेड क्षितिज भण्डारी समान ८ अंक जोडेर दोस्रो भएर ३० हजार जित्न सफल भए । ८ अंक नै जोडेर नेपालका २०६९ रेटेड आशिष फुयाँल तृतीय भए । उनले २५ हजार पाए ।

समान ७ अंक जोडेका स्याङ्जाका अनरेटेड आकाश सुवेदी चौथो भएर २० हजार पाउन सफल भए । उपाधिबाट चुकेका १९७३ रेटेड झापाका राजन सुवेदी पाँचौं, काठमाडौंका १८९८ रेटेड सीएम नवीन तण्डुकार छैटौं, झापाका २००२ रेटेड सीएम सुश्रुत दाहाल सातौं भए । उनीहरूले जनही १७ हजार जिते ।  

नवलपुरका १९७० रेटेड सुजन काफ्ले, चेकमेट चेस एकेडेमीका २०२४ रेटेड प्रकाशचन्द्र नेपाल र ललितपुरका १९११ रेटेड राजन पुरी टपटेनभित्र रहे । उनीहरू समान १५ हजार पुरस्कार पाए ।

खेलमा पाँचथरका १९३१ रेटेड महेन्द्र सम्बाहाम्फे, धरानका २०५७ रेटेड मुहान नरसिंह श्रेष्ठ, दोलखाका १८३२ रेटेड कविन्द्र सिवाकोटी, चितवनका १८३० रेटेड सन्तोष गौतम र झापाका १८६० रेटेड उमेश राई शीर्ष १५ स्थानभित्र रहँदै ७ हजार जित्न सफल भए ।

महिला विधातर्फ झापाकी कृतिसरा अधिकारी प्रथम, राधिका पौडेल द्वितीय र उज्जिविनी कँडेल तृतीय भएर क्रमशः ७ हजार, ६ हजार र ५ हजार जिते ।

नवप्रवेशीमा संस्कार गुरुङ, सिनियरमा अशोकमोहन श्रेष्ठ, यू–१० प्रसुन मल्ल, यू–१२ हार्दिक पन्त, यू–१४ समृद्घ श्रेष्ठ, १६ सय रेटिङमुनि स्पर्श अर्याल, १८ सयमुनि प्रतीक सुवेदी उत्कृष्ट भए ।

काठमाडौं महानगरपालिका वडा २९ को स्थानीयतर्फ अग्रिम संयुक्त प्रथम, दिपोन मैनानी द्वितीय र निहाना श्रेष्ठ तृतीय भए ।  

बागमती प्रदेश सभासद दीपेन्द्र श्रेष्ठ, आयोजक वडा २९ का अध्यक्ष कुश ढकाल, संयोजक सन्तोष ढुंगेल, निर्देशक इन्द्रकुमार बस्नेतलगायतले पुरस्कृत गरे ।

ध्रुव तुलाधर तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully