अर्जुन र फुलमतिले जिते झिल्टुङ क्रसकन्ट्री दौड

शनिबार नुवाकोटको झिल्टुङमा भएको खुलातर्फ १३.४ किलोमिटर दूरीको पुरुषतर्फ आर्मीका अर्जुन बुढा र महिलातर्फ फुलमति राना विजेता बनेका हुन् ।

माघ १०, २०८२

कान्तिपुर संवाददाता

Arjun and Phulmati won the Jhiltung cross-country race

What you should know

काठमाडौँ — आर्मीका अर्जुन बुढा र एपीएफ क्लबकी फुलमति रानाले दसौं झिल्टुङ क्रसकन्ट्री दौडमा उपाधि जितेका छन् । शनिबार नुवाकोटको झिल्टुङमा भएको खुलातर्फ १३.४ किलोमिटर दूरीको पुरुषतर्फ अर्जुन र महिलातर्फ फुलमति विजेता बनेका हुन् ।

अर्जुनले निर्धारित दूरी ५१ मिनेट ५७.८ सेकेन्डमा पूरा गरे । ताप्लेजुङका रमेश लिम्बू (५४ मिनेट २५.२ सेकेन्ड) दोस्रो र रुकुमका ठकेन्द्र शर्मा (५६ मिनेट २३.७ सकेन्ड) तेस्रो भए । फुलमतिले निर्धारित दूरी तय गर्न १ घण्टा ८ मिनेट ५ सेकेन्ड खर्चिन् । आर्मीकी राज्यलक्ष्मी रावल (१ घण्टा २१ मिनेट ८ सेकेन्ड) दोस्रो र एपीएफकी सुशीला महत (१ घण्टा ४० मिनेट ५ सेकेन्ड) तेस्रो स्थानमा रहे ।

बेलकोटगढी नगरपालिका नुवाकोटद्वारा आयोजित प्रतियोगिताको स्थानीय जुनियर यू–१६ छात्र ४.५ किलोमिटरमा आशिष तामाङ पहिलो, गुलसन रोकामगर दोस्रो र मनीष तामाङ तेस्रो भए । सोही दुरीमा छात्रातर्फ सिलसिला कुँवरले स्वर्ण, सकिना तामाङले रजत र राइस्का सुवेदीले कांस्य जितेका छन् ।

स्थानीय भेट्रान ४५ वर्षमाथि ४.५ किलोमिटरमा चन्द्रमान श्रेष्ठ श्रेष्ठ पहिलो, मिठु नेपाल दोस्रो र राजेन्द्रप्रसाद नेपाल तेस्रो भए । आमा समूहतर्फ ४.५ किलोमिटरमा सनिता श्रेष्ठ पहिलो, विमला श्रेष्ठ दोस्रो र भवानी लामिछाने तेस्रो भए । भेट्रान खुला पुरुषतर्फ १३.४ किलोमिटरमा धर्म महर्जनले स्वर्ण, रेवतबहादुर दाहालले रजत र रामचन्द्र श्रेष्ठ कांस्य पदक जिते ।

जुनियर यू–१८ छात्रको ४.५ किलोमिटरमा बादल कार्की पहिलो, सुशान्त लामिछाने दोस्रो र प्रवीण कार्की तेस्रो भए । छात्रामा प्रनिशा कार्की पहिलो, शर्मिला गोले दोस्रो र आयुष्मा आचार्य तेस्रो भए ।

स्थानीय पुरुष १३.४ किलोमिटर दूरीमा विमल थापा मगर पहिलो, अम्मर श्रेष्ठ दोस्रो र सुमन श्रेष्ठ तेस्रो भए ।

विजेतालाई निवर्तमान सांसद विमला सुवेदी, बेलकोटगढकी नगरपालिकाका मेयर जगतबहादुर गुरुङ, उपमेयर शिव दाहाल, बेलकोटगढी नगरपालिका वडा ५ का अध्यक्ष मदन भुजेल, दौडका परिकल्पनाकार मोहन नेपाल, एथलेटिक्स परिवार नेपालका अध्यक्ष तथा रेस डाइरेक्टर राजन खत्रीलगायतले पुरस्कृत गरे । प्रतियोगिताको कुल पुरस्कार राशि ३ लाख ६४ हजार रुपैयाँ थियो ।

सबै दूरीको दौड बेलकोटगढी नगरपालिकास्थित कोल्पुटारबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी कोल्पुटारमै आएर टुंगिएको थियो । बेलकोटगढी नगरपालिका वडा ५ को संयोजन तथा एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा भएको दौडमा ३ सय प्रतिस्पर्धी सहभागी थिए ।

कान्तिपुर

Link copied successfully