अन्तर्राष्ट्रिय टोलीको सहभागिता र प्रविधिमैत्री पूर्वाधारले भव्य टाइगर कप भलिबलको कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण
What you should know
पोखरा — पोखराको आकाशमुनि भलिबलको ‘क्रेज’ सधैं उच्च रहन्छ । तर, शुक्रबार पोखरा रंगशालामा सुरु हुने ‘एनसेल छैटौं टाइगर कप’ ले यो क्रेजलाई एउटा नयाँ उचाइ दिँदै छ । भलिबलको उर्वरभूमि गण्डकीमा उत्पादित खेलाडीको पसिना र भलिबलप्रेमीको हुटिङले माघ १७ सम्म पोखरा तात्तिने पक्का छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने यस राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिपमा राष्ट्रिय खेल भलिबलको कौशल र अन्तर्राष्ट्रिय टोलीको चुनौती एकैसाथ देख्न पाइनेछ ।
यसपल्ट प्रतियोगिता एउटा खेल उत्सवमात्र होइन, नेपाली भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा ‘ब्रान्डिङ’ गर्ने एउटा बलियो प्रयास पनि हो ।
टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माका अनुसार यो प्रतियोगिताको जग भलिबलप्रतिको अगाध प्रेममा अडिएको छ ।
‘हामी वास्तवमै खेलकुदमा रुचि राख्ने खेलाडीहरू थियौं, जो भलिबलसँग निकै नजिक थियौं,’ उनी सम्झन्छन्, ‘पीएन क्याम्पसको मैदानले हामीलाई धेरै दियो । त्यही ऋण तिर्न र भलिबललाई ब्रान्ड बनाउन हामीले एउटा समूह बनायौं ।’
संस्थाको नाम ‘टाइगर’ राख्नुको पछाडि नेपालीको धार्मिक आस्था र शक्तिको प्रतीक जोडिएको उनी बताउँछन् । ‘दसैंमा पुजिने भगवतीको वाहन बाघ हो । बाघ एउटा साहसी र मजबुत प्राणी हो, जसले एकपटक काम सुरु गरेपछि अन्त्यसम्मै पुग्न सक्छ,’ उनले भने, ‘यही साहस आत्मसात् गर्दै हामीले टाइगर ग्रुप अफ पोखरा नामाकरण गरेका हौं ।’
यस अभियानमा प्रदेशसभा सदस्य प्रकाश बराल, प्रतियोगिता संयोजक राजकुमार गुरुङ, देवेन्द्र केसी, हरि श्रेष्ठ, डीबी नेपाली, याम गुरुङ, छ्याम थापालगायतको सिंगो टोली अहोरात्र खटिएको छ ।
टाइगर कपको आकर्षण विगतका संस्करणभन्दा फरक र भव्य छ । पुरुषतर्फ माल्दिभ्सको राष्ट्रिय टोली र महिलातर्फ थाइल्यान्डको टोलीले पोखरेली कोर्टमा आफ्नो जादु देखाउने छ । अध्यक्ष शर्मा विदेशी टोलीको आगमनले नेपाली खेलाडीलाई नयाँ प्रविधि र रणनीति सिक्ने अवसर प्रदान गर्ने बताउँछन् ।
प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिम सहभागिता रहनेछ । महिलातर्फ थाइल्यान्ड क्विन्ससहित नेपाल पुलिस क्लब, एपीएफ, त्रिभुवन आर्मी र टिपटप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले सहभागिता जनाउने छ ।
पुरुषतर्फ माल्दिभ्सको राष्ट्रिय टिमसहित गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, एपीएफ, त्रिभुवन आर्मी र पर्वत जिल्ला भलिबल संघको टिम प्रतिस्पर्धामा उत्रने आयोजकले जनाएको छ । टिपटप हेल्प नेपालकै खेलाडी लिएर पर्वत टिम प्रतियोगितामा सहभागी भएको हो । प्रतियोगितालाई विवादरहित बनाउन यसपल्ट अन्तर्राष्ट्रिय रेफ्रीलाई खटाइने गण्डकी प्रदेश भलिबल संघका महासचिव एवं अन्तर्राष्ट्रिय रेफ्री टहलसिंह थापाले बताए ।
आयोजकले यसपल्ट पुरस्कार राशिमा वृद्धि गरेको छ । महिला र पुरुषतर्फ समान पुरस्कार व्यवस्था गरिएको छ । पहिलो हुने पुरस्कार ६ लाख ६६ हजार ६ सय ६६, दोस्रो पुरस्कार ३ लाख ६६ हजार ६ सय ६६ र तेस्रो पुरस्कार २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ रहेको छ । सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६ सय ६६ र विधागत विजेताले जनही ११ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको मुख्य प्रायोजक एनसेल रहेको छ भने सह–प्रायोजकको रूपमा वात्सल्य र धारा तोरीको तेल रहेका छन् । विशेष सहयोगीको रूपमा कान्तिपुर टेलिभिजन एचडी र सुश्री मिडिया प्रालि, एक्सट्रिम इनर्जी ड्रिंकलगायतका संघसंस्था तथा व्यक्तिको सहयोग रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
‘टाइगर कप ब्रान्ड बनाउँछौं’: नारायणप्रसाद शर्मा अध्यक्ष, टाइगर ग्रुप अफ पोखरा
भलिबल राष्ट्रिय खेल भएसँगै हामी आज छैटौं संस्करणमा आइपुगेका छौं । पाँचौं संस्करणदेखि एनसेलले मुख्य प्रायोजकका रूपमा साथ दिइरहेको छ । गण्डकी प्रदेश भलिबलको उर्वर भूमि भएकाले यही कोर्टबाट धेरै राष्ट्रिय खेलाडी उत्पादन भएका छन् । छैटौं संस्करणसम्म आइपुग्दा हामीले यसलाई समय र प्रविधिमैत्री बनाउँदै एउटा ब्रान्डका रूपमा स्थापित गर्न खोजेका छौं ।
यसपटक हामीले भौतिक संरचनामा पनि सुधार गरेका छौं । दर्शकका लागि बस्ने व्यवस्था अझ सहज र खुकुलो बनाउन स्थायी र अस्थायी प्यारापिट थपिएको छ । खेललाई विवादरहित बनाउन अन्तर्राष्ट्रिय रेफ्री ल्याएका छौं, जसले गर्दा प्राविधिक त्रुटि र विवाद कम हुने आशा छ ।
वरीयताका हिसाबले माल्दिभ्सको पुरुष राष्ट्रिय टोली र थाइल्यान्डको महिला टोली सहभागी हुँदै छ । विदेशी खेलाडीको खेल्ने शैली, रणनीति र पोजिसन नेपाली खेलाडीले नजिकबाट हेरेर सिकुन् भन्ने हाम्रो मुख्य उद्देश्य हो । हामी अझै उत्कृष्ट टोलीहरू ल्याएर नेपाली भलिबलको स्तर उकास्ने अठोटमा छौं ।
आर्थिक पाटोको कुरा गर्दा जटिल विषय हो । त्यसमा पनि पारदर्शिता कायम गर्नु झनै महत्त्वपूर्ण हुन्छ । तर म खुसी छु कि टाइगर ग्रुप पोखरा पहिलो पक्ष, कान्तिपुर मिडिया ग्रुप दोस्रो पक्ष र सुश्री मिडिया प्रालि तेस्रो पक्ष भएर तीन वर्षका लागि सम्झौता भएको छ । देशको आर्थिक अवस्था जर्जर हुँदा पनि विभिन्न कर्पोरेट हाउस र सहयोगी हातहरूले टाइगर कपमाथि विश्वास गरेर स्वतःस्फूर्त सहयोग गर्नुभएको छ । संघीय, प्रदेश र स्थानीय सरकारको पनि साथ छ ।
पोखरालाई अब खेलकुदको राजधानी पनि बनाइनुपर्छ । त्यसमा भलिबलको भूमिका पनि रहन्छ । भलिबललाई ग्रासरुटदेखि नै विकास गर्न विद्यालयको पाठ्यक्रममा समावेश गर्ने र सुरुदेखि नै बजेट विनियोजन गर्ने हो भने पूर्वाधार विकासमा ठूलो सहयोग पुग्छ । भलिबललाई व्यवस्थित र व्यावसायिक बनाउन योजनाबद्ध ढंगले लाग्छौं ।
