भारतका २० खेलाडीसहित २ सय ३० खेलाडीको सहभागिता रहेको प्रतिस्पर्धामा प्रकाशचन्द्रले शतप्रतिशत नतिजा आफ्नो पक्षमा पारेका हुन् ।
What you should know
काठमाडौँ — झापाका प्रकाशचन्द्र नेपालले प्रथम केएमसी वडा कप खुला फिडे र्यापिड चेसमा अग्रता बनाएका छन् ।
भारतका २० खेलाडीसहित २ सय ३० खेलाडीको सहभागिता रहेको प्रतिस्पर्धामा प्रकाशचन्द्रले शतप्रतिशत नतिजा आफ्नो पक्षमा पारेका हुन् ।
शुक्रबार ५ चरणको खेलमा भारतका किशन कुमार र दोलखाका आशिष फुयाल समान ५ अंक जोडेर प्रकाशसँगै संयुक्त शीर्षस्थानमा छन्।
कामनपा २९ वडाको आफ्नै भवनमा भइरहेको स्पर्धामा झापाका १९७३ रेटेड राजन सुवेदीले मकवानपुरका २११७ रेटेड एफएम क्षितिज भण्डारीसँग बराबरी गर्दै साढे ४ अंकसहित संयुक्त दोस्रो स्थान ओगटे ।
क्षितिजसँगै बाँकेका १९२८ रेटेड एआईएम अभिक शाह, बनेपाका १९९६ रेटेड शैलेन्द्र न्यौपाने, ललितपुरका २०२१ रेटेड सुरज महर्जन, १९११ रेटेड राजन पुरी र भारतका १७७७ रेटेड शशि प्रकाश समान ४.५ अंक बटुलेका छन् ।
२०२४ रेटेड प्रकाशचन्द्रले अग्रिम सैंजु, विनय राई, सुरज सिंह, सुभन दीप र प्रेम खड्कालाई हराएका थिए ।
भारतका १९०९ रेटेड किशन कुमारले अरिज राई, कसिभ कार्की, राजनारायण यादव, प्रतीक सुवेदी र सीएमए सुश्रुत दाहालमाथि जित पाएका थिए ।
काठमाडौं महानगरपालिका–२९ को आयोजनामा भइरहेको प्रतियोगितामा २०६९ रेटेड आशिष फुयालले नेलिसा ओझा, आशनारायण लवट, महेश्वरलाल डंगोल, स्पर्श यादव र सुजन काफ्लेलाई पराजित गरेका थिए ।
कामनपा २९ वडाका अध्यक्ष कुश ढकालले दुई दिने प्रतिस्पर्धामा हालसम्मकै सर्वाधिक नगद पुरस्कार ३ लाख २८ हजार प्रदान गर्ने जानकारी गराए । संयोजक सन्तोष ढुंगेलका अनुसार विजेता खेलाडीले ३५ हजार, दोस्रोले ३० हजार, तेस्रोले २५ हजार, चौथो हुने खेलाडीले २० हजार प्राप्त गर्नेछन् ।
यस्तै पाँचौंदेखि सातौं स्थानसम्म आउने खेलाडीले समान १७ हजार प्राप्त गर्ने छन् । आठौंदेखि दसौं हुने खेलाडीले जनही १५ हजार, एघारौं देखि पन्ध्रौंसम्म हुनेले जनही ७ हजार पुरस्कार हात पार्नेछन् । विधागत उत्कृष्टले पनि पुरस्कार पाउनेछन् ।
