हाङथुम कप: डिवाइसी धनकुटा फाइनल प्रवेश

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा कोशी प्रदेश प्रहरी टोलीलाई २–० गोलले हराउँदै डिवाइसी धनकुटा फाइनल प्रवेश गरेको हो।

माघ ९, २०८२

दीपेन्द्र शाक्य

Hangthum Cup: Dzici Dhankuta advances to finals

संखुवासभा — डिवाइसी धनकुटा संखुवासभाको मूलखर्कमा जारी ४७औं संस्करणको हाङथुम कप फुटबलको फाइनलमा पुगेको छ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा कोशी प्रदेश प्रहरी टोलीलाई २–० गोलले हराउँदै डिवाइसी धनकुटा फाइनल प्रवेश गरेको हो।

डिवाइसी धनकुटाको जितमा रितेस लिम्बु र सन्दिप लिम्बु नायक बने। खेलको ६४औं मिनेटमा रितेस लिम्बुले सशक्त प्रहारमार्फत पहिलो गोल गर्दै धनकुटालाई अग्रता दिलाए। त्यसपछि ७०औं मिनेटमा सन्दिप लिम्बुले सुन्दर गोल गर्दै टिमको जित सुनिश्चित गरे।

नेपाल र भारतका गरी ८ टोलीको सहभागिता रहेको प्रतियोगिता दर्शकहरूको उत्साहपूर्ण समर्थनकाबीच प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको छ।

आयोजक समितिका अध्यक्ष असिम जिमीका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद २ लाख ४२ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख २१ हजार रुपैयाँ पुरस्कार पाउनेछ।

हाङथुम कपको बहुप्रतिक्षित फाइनल खेल माघ १० गते मादी नगरपालिका–३ मूलखर्कमा आयोजना हुने आयोजकले जनाएको छ।

दीपेन्द्र

Link copied successfully