प्रथम सहिद कप फुटबल माघ १६ देखि 

अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता १६ देखि २१ माघसम्म हुनेछ ।

माघ ९, २०८२

आनन्द गौतम

First Martyrs Cup Football from Magh 16

ताप्लेजुङ — मिक्वाखोला गाउँपालिकामा प्रथम सहिद कप फुटबल प्रतियोगिता हुने भएको छ । 

पूर्वमाओवादीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) मिक्वाखोला गाउँपालिका कमिटीको आयोजनामा सहिद दिवसको अवसरमा प्रतियोगिता संचालन गर्न लागिएको हो । अन्तरपालिकास्तरीय  फुटबल प्रतियोगिता १६ देखि २१ माघसम्म हुनेछ । 

विजेताले १ लाख ५१ हजार र उपविजेताले १ लाख १ सय ११ रुपैयाँका साथमा ट्रफी,  मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाका ८ वटा पालिकाको  सहभागिता रहने जनाइएको छ । 

प्रतियोगिता मिक्वाखोला–४  थलङ खेल मैदानमा हुने खेल संयोजक रणध्वज थलङले जानकारी दिए । अन्तरपालिका स्तरीय प्रतियोगिता भएपनि ३ जनासम्म खेलाडी भने पालिका बाहिरका खेलाउन पाइने आयोजकले बताएका छन् ।  

१० वर्षे 'जनयुद्ध'का क्रममा ताप्लेजुङका पहिलो सहिद नरेन्द्र थलङ (सिडमान) र मिक्वाखोला गाउँपालिकाका सहिदहरूको स्मरण तथा खेलकुदको माध्यमद्वारा पालिकाको पर्यटन प्रवर्धन गर्न प्रतियोगिता सञ्चालन गर्न लागिएको मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु शेर्पाले बताए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully