नेपालले घरेलु मैदानमा गत वर्ष त्रिकोणात्मक शृंखलामा नेदरल्यान्ड्ससाग खेलेका तीनै खेल गुमाएको थियो
काठमाडौँ — पहिलो विजयको आसमा रहेको नेपालले आईसीसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा बिहीबार नेदरल्यान्ड्सको सामना गर्दै छ । पहिलो खेलमा आइतबार थाइल्यान्डसँग पराजित भएयता नेपालले नेदरल्यान्ड्सविरुद्धको खेलमा तयार हुन चार दिन समय पाएको थियो ।
यता नेदरल्यान्ड्स भने ५ दिनको अन्तरमा लगातार तेस्रो खेल खेल्दै छ । पहिलो दुई खेल जितेर नेदरल्यान्ड्स सुपर सिक्सतर्फ अग्रसर भइसकेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार बिहान हुने नेपालविरुद्धको खेलमा जित हात पारे नेदरल्यान्ड्सको अर्को चरणको यात्रा निश्चित हुनेछ ।
महिला विश्व ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेदरल्यान्ड्स १४ र नेपाल २१ औं स्थानमा छ । चार पटक एकदिवसीय विश्वकप खेले पनि नेदरल्यान्ड्सको महिला टोली पहिलो पटक ट्वान्टी–२० विश्वकप खेल्ने दाउमा छ । सन् २०२२ को मेमा एकदिवसीय महिला अन्तर्राष्ट्रिय मान्यता पाएको नेदरल्यान्ड्सको ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा यो तेस्रो सहभागिता हो ।
नेपाल भने महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो पटक प्रतिस्पर्धा गरिरहेको छ । थाइल्यान्डसँगको पहिलो खेलमै पहिलो पावर प्लेभित्र ५४ रन जोडेर उत्कृष्ट सुरुआत गरेको नेपाल अन्त्यमा १ सय २२ रनमा खुम्चिएको थियो । नेपालले यस्तै स्थिति अमेरिकासँगको दोस्रो अभ्यास खेलमा पनि भोग्नुपरेको थियो ।
सम्झना खड्का र विन्दु रावलले उत्कृष्ट सुरुआत दिलाएपछि नेपालको मध्यक्रम भत्किने गरेको छ । नेपालको ब्याटिङमा मुख्य समस्या यसैमा छ । यही मध्यक्रममा कप्तान इन्दु बर्मादेखि उपकप्तान पूजा महतो, रुबिना क्षेत्री, कविता जोशी ब्याटिङ गर्छन् । विगतमा ओपनिङमा खेल्दै आएकी सीता रानामगरको ब्याटिङ अहिले तल्लोक्रममा झरेको छ ।
थाइल्यान्डसँगको खेलपछि कप्तान इन्दुले भनिसकेकी छन्, उनीसँग पूजा र रुबिनाले जिम्मेवारी लिएर खेल्नुपर्नेछ । पूजा १७ बलमा १२ र इन्दु ६ रनमा आउट भएका थिए भने कविताले ३ रनमात्र जोडेकी थिइन् । पूर्व कप्तान रुबिनाले १० बल खेल्दै २ छक्का र १ चौकासहित १७ रन बनाएकी थिइन् ।
बलिङमा पनि नेपालले धार मिलाउन सकेको छैन । सुमन विष्ट र कविता कुँवरले थाइल्यान्डलाई सुरुमा अप्ठ्यारोमा पारे पनि विकेट भने लिन सकेकी थिइन् । रिया शर्माले बलिङ राम्रो गरेकी थिइन् । तर झरेको दुबै विकेट भेट्रान खेलाडी सीताले लिएकी थिइन् । नेदरल्यान्ड्समाथि पहिलो विजय हात पार्न नेपालले बलिङमा पनि चामत्कारिक प्रदर्शन गर्नुपर्ने हुन्छ ।
गत वर्ष थाइल्यान्डसहित त्रिकोणात्मक शृंखलामा नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्ससँग तीन खेल खेलेको थियो । सबैमा पराजित भयो । पहिलो खेलमा नेपालले बनाएको १ सय ४५ रनलाई नेदरल्यान्ड्सले दुई बलअगाडि बिनाक्षति १ सय ५१ रन बनाएर पार गरेको थियो । त्यसपछिका दुई खेलमा नेपाल क्रमशः १५ र २० रनले पराजित भएको हो । पछिल्ला यी दुई झिनो अन्तरको हारले पनि नेदरल्यान्ड्समाथि विजय हात पार्न सकिन्छ भन्ने नेपालको सम्भावना बनेको छ ।
तर, नेदरल्यान्ड्सले यसपालि उत्कृष्ट सुरुआत गरेको छ । पहिलो खेलमा जिम्बावेलाई २२ रनले पराजित गरेको नेदरल्यान्ड्सले मंगलबार दोस्रो खेलमा स्कटल्यान्डमाथि ७ रनको जित पाएको थियो । स्कटल्यान्डविरुद्ध स्टेरे कालिसले ६० बलमा अविजित ८७ रन बनाएकी थिइन् । २६ वर्षीया उनै कालिसले गत वर्ष नेपालविरुद्ध टोलीलाई १० विकेटको विजय दिलाउँदा ६९ बलमा अविजित ९८ रन बनाएकी थिइन् ।
आजका खेल
नेपालविरुद्ध नेदरल्यान्ड्स, कीर्तिपुर
बंगलादेशविरुद्ध नामिबिया, कीर्तिपुर
आयरल्यान्डविरुद्ध अमेरिका, मूलपानी
स्कटल्यान्डविरुद्ध जिम्बावे, मूलपानी
