पुरुषतर्फ माल्दिभ्सको राष्ट्रिय टोली र महिलातर्फ थाइल्यान्डको टोली सहभागी, कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने ।
What you should know
पोखरा — टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता शुक्रबारदेखि पोखरा रंगशालामा सुरु हुँदैछ ।
१७ माघसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको यो छैटौं संस्करणमा विदेशी टिमहरूको समेत सहभागिता रहने भएकोले नेपाली भलिबल प्रेमीका लागि यो विशेष आकर्षणको केन्द्र बन्ने देखिएको छ ।
बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी दिए । ‘यस संस्करणको छैटौं चरणसम्म आइपुग्दा विदेशी टिमहरूले भाग लिनु नेपाली भलिबल प्रेमीहरूका लागि सुखद पक्ष रहेको छ,’ उनले भने, ‘विगतका संस्करणले प्राप्त गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलताले यस वर्ष हामीलाई अझ बढी रूपमा सहयोगी हातहरू प्राप्त भएको छ ।’
महिलातर्फ थाइल्यान्ड क्विन्स् थाइल्यान्ड र पुरुषतर्फ माल्दिभ्सको टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप टप न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले सहभागिता जनाउनेछन् ।
पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघको टिम प्रतिस्पर्धामा उत्रने आयोजकले जनाएको छ । टिपटप हेल्प नेपाल कै खेलाडी लिएर पर्वत जिल्ला भलिबल संघ प्रतियोगितामा सहभागी भएको हो ।
आयोजकले यसपल्ट पुरस्कार राशिमा वृद्धि गरेको छ । विजेता दुवै समूह महिला तथा पुरुषतर्फका टिमलाई समान राशिको पुरस्कार व्यवस्था गरिएको छ । पहिलो पुरस्कार ६ लाख ६६ हजार ६ सय ६६, दोस्रो पुरस्कार ३ लाख ६६ हजार ६ सय ६६ र तेस्रो पुरस्कार २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ रहेको छ । सर्वोत्कृष्ट खेलाडीले नगद २६ हजार ६ सय ६६ र विधागत विजेता खेलाडीले जनही ११ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको मुख्य प्रायोजक एनसेल रहेको छ भने सह–प्रायोजकको रूपमा वात्सल्य र धारा शुद्ध तोरीको तेल रहेका छन् । विशेष सहयोगीको रूपमा कान्तिपुर टेलिभिजन एचडी र सुश्री मिडिया प्रालि, एक्सट्रिम इनर्जी ड्रिंक लगायतका संघसंस्था तथा व्यक्तिको सहयोग रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने छ ।
प्रतियोगितालाई थप आकर्षक बनाउन यसपल्ट गतवर्षभन्दा बढी क्षमताको प्याराफिट तथा स्टेज निर्माण गरिएको छ । ख्यातिप्राप्त राष्ट्रिय कलाकारको प्रस्तुति समेत हुनेछ ।
दर्शकको सहजताका लागि ३ हजार ५ सय रुपैयाँको अनलाइन सिजनल टिकटको व्यवस्था गरिएको छ । खल्ती आईएमईको सहकार्यमा टिकट वितरण गरिएको छ । प्रत्येक दिन टिकटको अर्धकट्टीबाट भाग्यमानी दर्शकलाई एक्सटेप फेसन नेपालको तर्फबाट टिसर्ट प्रदान गरिने बताइएको छ ।
प्रत्येक म्याचमा टाइगर केल्मी अफ द म्याच हुन सफल खेलाडीलाई केल्मी नेपालको तर्फबाट सोभिनियर प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता आयोजना गर्न करिब १ करोड ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । ‘मुलुकको आर्थिक अवस्था जटिल भएकाले प्रायोजक र आर्थिक सहयोग अपेक्षा गरेअनुसार जुट्न सकेको छैन,’ अध्यक्ष शर्माले भने, ‘तर सहयोग रकम जुटाउने अभियान अहिले पनि जारी छ ।’ उनले प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य, शिक्षा, खेलकुद एवं सामाजिक क्षेत्रमा लगानी गरिने बताए ।
ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई निःशुल्क खेल हेर्ने व्यवस्था गरिएको छ । उनीहरूका लागि छुट्टै स्थानको व्यवस्था समेत आयोजकले गरेको छ । प्रतियोगितालाई सफल बनाउन आयोजक संस्थाका अध्यक्ष शर्माको अध्यक्षतामा १ सय ७ सदस्यीय मूल आयोजक समितिले काम गरिरहेको छ ।
यस वर्ष प्रतियोगिताको संयोजक राजकुमार गुरुङ र सहसंयोजक डोलराज पोखरेल रहेका छन् । प्रतियोगितालाई डिजिटल प्रविधिमैत्री बनाउँदै प्रतियोगिता स्थलमा एलईडी स्क्रिन डिजिटल बोर्डको व्यवस्था आयोजकले गरेको छ ।
प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछन् । पुरुषतर्फ पहिलो खेल मालदिभ्स र नेपाल आर्मी क्लबबीच हुनेछ । महिलातर्फ न्यु डायमन्ड र नेपाल आर्मी क्लब भिड्नेछन् । उद्घाटन खेल पुरुषतर्फको गण्डकी प्रदेश भलिबल संघ र एपीएफ क्लबबीच हुनेछ ।
