दुधे फुटबल क्लब दार्जिलिङ हाङथुम कपको सेमिफाइनलमा

प्रतियोगितामा संखुवासभाको इन्द्रेणी क्लब, कोशी प्रदेश प्रहरी, डीवाईसी धनकुटा, लिखुभुजी रामेछाप, इन्द्रेणी क्लब बराहक्षेत्र सुनसरी, म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुम, भारतको दुधे फुटबल क्लब दार्जिलिङ तथा आयोजक हाङथुम क्लब सहभागी छन् ।

माघ ८, २०८२

दीपेन्द्र शाक्य

Dudhe Football Club advances to the semifinals of the Darjeeling Hangthum Cup

संखुवासभा — भारतको दुधे फुटबल क्लब दार्जिलिङले आयोजक हाङथुम क्लबलाई २–१ ले पराजित गर्दै हाङथुम कपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको अन्त्यतिर हाङथुमका पारस जिमीले ४५औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा दुधे फुटबल क्लब दार्जिलिङले खेलमा उत्कृष्ट पुनरागमन गर्‍यो ।

खेलको ५७औं मिनेटमा सुदेश राईले बराबरी गोल गर्दै खेललाई १–१ को अवस्थामा ल्याए । त्यसपछि दुधे थप आक्रामक बनेको थियो । ७३औं मिनेटमा पासाङ तामाङले निर्णायक गोल गर्दै दुधेलाई सेमिफाइनलको यात्रा तय गराए ।

नेपाल र भारतका गरी ८ टोली सहभागी प्रतियोगितामा संखुवासभाको इन्द्रेणी क्लब, कोशी प्रदेश प्रहरी, डीवाईसी धनकुटा, लिखुभुजी रामेछाप, इन्द्रेणी क्लब बराहक्षेत्र सुनसरी, म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुम, भारतको दुधे फुटबल क्लब दार्जिलिङ तथा आयोजक हाङथुम क्लब सहभागी छन् ।

आयोजक समितिका अध्यक्ष असिम जिमीका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद २ लाख ४२ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख २१ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

हाङथुम कपको फाइनल खेल माघ १० गते मादी नगरपालिका–३ मूलखर्कमा आयोजना हुने आयोजकले जनाएको छ । 

दीपेन्द्र

Link copied successfully