अमितकुमार यादवको उत्कृष्ट ब्याटिङ मद्दतमा कंकालिनीले ४७ ओभरमा अलआउट हुनुअघि ३ सय ९४ रन बनाएको थियो ।
राजविराज — अमितकुमार यादव एक्लैले प्रधानमन्त्री कप सप्तरी जिल्लास्तरीय छनोट क्रिकेट प्रतियोगितामा २ सय ७८ रन बनाएका छन् ।
कंकालिनी सप्तरीबाट खेल्दै उनले राजविराज नगरपालिका–५ स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको मैदानमा लोहजरा सप्तरीविरुद्ध अविश्वसनीय इनिङ्स खेलेका हुन् । ओपनिङ ब्याटर उनले १ सय ७५ बल खेल्दै ३८ चौका र १२ छक्का प्रहार गरेका थिए ।
उनको उत्कृष्ट ब्याटिङ मद्दतमा कंकालिनीले ४७ ओभरमा अलआउट हुनुअघि ३ सय ९४ रन बनाएको थियो । अमितबाहेक महानन्द यादवले २५ र गोपाल मण्डलले १९ रन जोडे । लोहजराका रितिक यादवले ३, अभिषेक कार्कीले २, अभिमन्यू सरदार र परमानन्द यादवले १–१ विकेट लिए ।
जवाफमा लोहजरा ३५.१ ओभरमा १ सय ८२ रनमै अलआउट भयो । सचिन यादवले ४४, मोहम्मद साजिद अलीले ४१, अभिषेक कार्कीले ३१ र वसन्त यादवले १७ रन बनाए । कंकालिनीका आदित्यकुमार साहले ४, सञ्जीव मण्डलले २, मोहम्मद सोहिल र गोपाल मण्डलले १–१ विकेट लिए ।
