त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार सेमिफाइलनमा स्वनिमले एपीएफका मनीष कार्की र प्रवीणले बागमती प्रदेशका अमृत ठोकरलाई पराजित गरेका थिए ।
काठमाडौँ — नेपाल पुलिस क्लबका खेलाडी स्वनिम मानन्धर र आर्मीका प्रवीण मानन्धर राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिताको पुरुष एकल कातातर्फ फाइनल पुगेका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार सेमिफाइलनमा स्वनिमले एपीएफका मनीष कार्की र प्रवीणले बागमती प्रदेशका अमृत ठोकरलाई पराजित गरेका थिए । सोही स्पर्धाको महिलातर्फ एपीएफकी सञ्जु देसारले बागमतीकी दीपा पुन र पुलिसकी एलिशा रास्कोटी मगरले आर्मीकी सानुमाया थिङलाई हराएर फाइनलमा स्थान सुरक्षित गरेका थिए ।
नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरद्वारा आयोजित प्रतियोगिताको पुरुष/महिला टिम कातामा आर्मी र प्रहरीले उपाधि भिडन्त पक्का गरे ।
प्रतियोगिताको राखेपका सदस्य–सचिव रामचरित्र मेहताले उद्घाटन गरे । त्यस अवसरमा अन्तर्राष्ट्रिय पदक विजेता निरुपा दोङ तामाङ र रेहान जावेदलाई जनही २० हजारसहित सम्मान गरिएको थियो । कराते प्रशिक्षकत्रय राजेन्द्र कपाली, अक्बर शाह र विजयमान थापा पनि सम्मानित भए ।
प्रतियोगितामा सातै प्रदेश, पुलिस, आर्मी र एपीएफका गरी १० टिमबाट २ सय १० खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक रामकुमार थारुले जनाएका छन् ।
