महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत मंगलबार मूलपानीमा भएको खेलमा जिम्बावेको विकेट लिएपछि थाइल्यान्डका खेलाडीको उत्साह । थाइल्यान्डले १ रनको रोमाञ्चक जित पाएको थियो ।
काठमाडौँ — बंगलादेश, थाइल्यान्ड र नेदरल्यान्ड्सले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा लगातार दोस्रो जित हात पारको छन् । यस नतिजाले यी राष्ट्रहरूलाई सुपर सिक्सतर्फ अग्रसर गराएको छ । अमेरिकाले प्रतियोगितामा पहिलो विजय हात पारेको छ ।
दाबेदार बंगलादेशले समूह ‘ए’ को खेलमा पपुवा न्युगिनीलाई ३० रनले पराजित गर्यो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेपछि ब्याटिङ निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ६८ रन बनायो । ओपनर दिलारा अक्तरले ३५ र शोर्ना अक्तरले ३७ रन बनाएका थिए ।
जबाफमा आएको पपुवा न्युगिनीले ९ विकेट गुमाई १ सय ३८ रनमात्र बनाउन सक्यो । बंगलादेशले पहिलो खेलमा अमेरिकालाई पपुवा न्युगिनीको यो लगातार दोस्रो हार हो । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्ने प्रावधान छ ।
कीर्तिपुरमै भएको दोस्रो खेलमा चार पटक ट्वान्टी–२० विश्वकप खेलिसकेको नेदरल्यान्ड्सले स्कटल्यान्डमाथि ७ रनको जित हात पारेको थियो । स्टेरे कालिसले ६० बल खेल्दै १४ चौका र १ छक्कासहित अविजित ८७ रन बनाएपछि नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ५७ रन बनाएको थियो । कप्तान क्याथरिन ब्रिसले ४२ र क्याथरिन फ्रेजरले ४१ रन बनाए पनि जबाफमा आएको स्कटल्यान्डले ५ विकेट गुमाई १ सय ५० रनमात्र बनाउन सक्यो ।
मूलपानी मैदानमा भएको खेलमा थाइल्यान्डले जिम्बावेमाथि १ रनको रोमाञ्चाक विजय हात पायो । जिम्बावेलाई अन्तिम बलमा २ रन आवश्यक हुँदा नयाशा ग्वान्जुरा १ रन पनि थप्न नसकी रनआउट भएपछि थाइल्यान्डले बाजी मारेको थियो । नानापाट कोन्चारोइन्काईले ५२ बलमा ६ चौका प्रहार गर्दै ५४ रन बनाएपछि थाइल्यान्डले समूह ‘बी’ को खेलमा निर्धारित ओभरमा ७ विकेट गुमाई १ सय १५ रन बनाएको थियो । जिम्बावेले जवाफमा ६ विकेट गुमाई १ सय १४ रनमात्र बनाउन सक्यो । पहिलो पटक विश्वकप खेल्ने आसमा रहेको जिम्बावेको यो लगातार दोस्रो हार हो ।
प्रतियोगितामा सबैभन्दा तल्लो वरीयताको अमेरिकाले मूलपानीमा भएको दोस्रो खेलमा नामिबियालाई ४ विकेटले हरायो । नामिबियाले ६ विकेट गुमाई १ सय ४४ रन बनाएको थियो । ओपनर यास्मिन खानले ४७ बलमा ७४ रन बनाएकी थिइन् । उनले ११ चौका र २ छक्का प्रहार गरेपछि नामिबिया राम्रो स्कोर बनाउन सफल भएको थियो । तर इला क्लारिजले ५१ बल खेल्दै १० चौका र १ छक्का प्रहार गरेर ७० रन बनाएपछि अमेरिकाले ४ बलअघि लक्ष्य पूरा गरेको थियो ।
