विभिन्न सात फ्रेन्चाइज टिमले फागुन ९ देखि २१ सम्म सुनसरीको भोक्राह नरसिंहस्थित डा. खालिल आजाद मैदानमा हुने प्रतियोगिताको लागि अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गर्दा पूर्वेलीले ४ लाख १८ हजार रकम खर्चेको हो ।
What you should know
सुनसरी — तेस्रो कोशी प्राइड लिग (केपीएल) क्रिकेटको अक्सनमा पूर्वेली सुपर किंग्सले खेलाडी अनुबन्धनका लागि सर्वाधिक रकम खर्च गरेको छ । विभिन्न सात फ्रेन्चाइज टिमले फागुन ९ देखि २१ सम्म सुनसरीको भोक्राह नरसिंहस्थित डा. खालिल आजाद मैदानमा हुने प्रतियोगिताको लागि अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गर्दा पूर्वेलीले ४ लाख १८ हजार रकम खर्चेको हो ।
काठमाडौंको गोर्खा एभेञ्जर्सले ४ लाख रुपैयाँ खर्च गरेको छ । बिर्तामोड हिड्सले ३ लाख ६८ हजार खर्च गर्दा इटहरी आदर्श जाइन्ट्सले ३ लाख ६४ हजार, काठमाडौंको एभरेस्ट थन्डर्सले ३ लाख ४० हजार, इटहरीको नमुना ब्लास्टर्डले ३ लाख २० हजार र सबैभन्दा कम भोक्राह नरसिंह कोशी अर्नाजले २ लाख ५० हजार खर्च गरेका छन् ।
अक्सनमा हरेक टिमले ड्राफ्टबाट एक मार्की र एक आइकोनिक गरी ३ देखि ६ खेलाडी अनुबन्ध गरेका छन् । अक्सनमा २ सय ३२ खेलाडी समावेश भएकामा ८४ खेलाडी बिक्री भए । क्याटगोरी ‘ए’ मा ३४, क्याटगोरी ‘बी’ मा ९५ र क्याटगोरी ‘सी’ मा १०३ खेलाडी थिए ।
अक्सनमा क्याटगोरी ‘ए’ को मूल्य न्यूनतम ४५ देखि ६५ हजार, ‘बी’ का लागि २५ देखि ४५ हजार तथा ‘सी’ को मूल्य ५ हजारदेखि २५ हजारसम्म तोकिएको थियो । ड्राफ्टबाट खेलाडी भित्र्याउँदा टिमले आवश्यकताअनुसार रकम खर्च गर्न पाउने सुविधा थियो ।
संजोक राणा मालिक रहेको पूर्वेली सुपर किंग्सले ड्राफ्टबाट ललित राजवंशीलाई निरन्तरता दिँदा मोहम्मद आदिल आलम, अर्जुन घर्ती, तृतराज दास, दिवन पुन र भरत कार्कीलाई अनुबन्ध गरेको छ । अक्सनबाट नरेन साउद, रिजन ढकाल, मयन यादव, आदिल खान, विशाल पटेल, इमरान शेख, चिराग शाह, दीपक पासवन, सोनु शर्मा, अभिषेक कार्की, मोहम्मद समिर र अभिषेक शर्मालाई टिममा अनुबन्ध गरेको हो ।
आकाश खड्का मालिक रहेको एभरेस्ट थन्डर्सले राष्ट्रिय टोलीका करण केसी, सोमपाल कामी, युवराज खत्री र रञ्जित कुमारलाई ड्राफ्टबाट लिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृति दिएको प्रतियोगितालाई कोशी प्रदेश र सुनसरी जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ ।
