एरिकाले टर्कीमा प्रिमियर लिग खेल्ने

उनीसहित नेपाली कराते टोली मंगलबार इस्तानबुल जानेछ ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

Erika to play in Turkish Premier League

काठमाडौँ — नेपालकी ऐतिहासिक पदक विजेता कराते खेलाडी एरिका गुरुङले टर्कीको इस्तानबुलमा हुने डब्लूकेएफ कराते वान प्रिमियर लिगमा खेल्ने भएकी छन् ।

उनीसहित नेपाली कराते टोली मंगलबार इस्तानबुल जानेछ । टोलीमा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ र अन्तर्राष्ट्रिय रेफ्री तारा गुरुङसँग जाने छन् ।

१९औं एसियाडमा ऐतिहासिक रजत जितेकी एरिकाले कुमुतेको महिला ६८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । विश्वस्तरका शीर्ष खेलाडीहरू सहभागी हुने प्रिमियर लिगमा उनको सहभागिता नेपाली करातेका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको प्रशिक्षक श्रेष्ठले बताए ।

यसअघि मोरक्कोमा सम्पन्न डब्लूकेएफ कराते वान प्रिमियर लिगमा कांस्य जितेकी एरिकाले दुई वर्षयता थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितिसकेकी छन् । उनको प्रदर्शनले ओलम्पिक तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सकारात्मक संकेत दिने अपेक्षा गरिएको प्रशिक्षक श्रेष्ठले बताए ।

रेफ्री गुरुङले पनि यस प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएकी छन् । उनी एसियन कराते महासंघअन्तर्गत ‘ए’ ग्रेड प्राप्त कुमुते रेफ्री हुन् ।  

त्यस्तै टर्कीको प्रतियोगितापछि नेपाली कराते टोली हार्लो ओपन कराते च्याम्पियनसिप र सेमिनारमा भाग लिन बेलायत जानेछ । बेलायतमा हुने प्रतियोगितामा नेली जोशी, प्रज्वसन यामातो श्रेष्ठ र एरिका गुरुङले भाग लिने छन् ।

सोही अवसरमा तमुधिः युकेले एरिका गुरुङलाई विशेष सम्मान गर्ने कार्यक्रम छ । यूकेमा हुने प्रतियोगितामा पनि रेफ्री तारा गुरुङले सहभागिता जनाउने छिन् ।

उनीहरू सबैलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल कराते महासंघका महासचिव दावा गुरुङले सोमबार बिदाइ गरेका थिए ।   

कान्तिपुर

Link copied successfully