नेपालले आक्रामक सुरुवात दिलाएकी ओपनर सम्झना खड्कालाई गुमाएको छ ।
What you should know
काठमाडौँ — नेपालले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा थाइल्यान्डविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ ।
थाइल्यान्डले आइतबार टस जितेपछि त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा नेपाललाई ब्याटिङका लागि बोलाएको थियो ।
नेपालले आक्रामक सुरुवात दिलाएकी ओपनर सम्झना खड्कालाई गुमाएको छ । उनले मात्र ११ बलमा २६ रन जोडिन् । नेपालले यतिबेला ९ ओभरको समाप्तिमा एक विकेट गुमाएर ६४ रन बनाएर खेलिरहेको छ ।
इन्दु बर्माको कप्तानीमा रहेको नेपालबाट सम्झना खड्का, विन्दु रावल, काजल श्रेष्ठ, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सीता रानामगर, रिया शर्मा, सोमु विष्ट खेलिरहेका छन् ।
नेपाल सन् २०११ यता थाइल्यान्डमाथि पहिलो विजय हात पार्ने आशामा रहेको छ । गत वर्ष त्रिकोणात्मक शृंखलामा थाइल्यान्डसँगको तीनै खेलमा नेपाल पराजित रहेको थियो । गत वर्षको मार्चमा बैंककमा भएको एसिया छनोटमा विजेता र उपविजेता बन्दै थाइल्यान्ड र नेपाल यस प्रतियोगिताका लागि छनोट भएका थिए ।
१० राष्ट्र सहभागि प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्डपछि, जनवरी २२ मा नेदरल्यान्ड्ससँग, जनवरी २४ मा जिम्बावेसँग तथा जनवरी २६ मा स्कटल्यान्डसँग प्रतियोगिताको खेल्ने छ । नेपालले जिम्बावे र स्कटल्यान्डसँग पहिलो पटक खेल्न लागेको हो ।
समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्यु गिनी र अमेरिका रहेका छन् । दुबै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्ने छन् । सुपर सिक्समा एकले अर्को टोलीसँग सामना गरेपछि शीर्ष चार टोली जुन–जुलाईमा इंग्ल्यान्ड र वेल्समा हुने ट्वान्टी–२० विश्वकपमा पुग्ने छन् ।
यस प्रतियोगिता अघिको अभ्यास खेलमा नेपाललाई आयरल्यान्डले ९९ रनले र अमेरिकाले ६ विकेटले पराजित गरेको थियो ।
