गल्फर राहुल एक स्ट्रोकको अग्रता

धरान गल्फ क्लबमा भएको प्रतियोगिताको पहिलो दिन २ ओभर ७२ स्कोर जोडेका राहुलले सुन्दर राईलाई १ स्ट्रोकले पछि पारे । ३ ओभर ७३ खेलेका सुन्दर राई दोस्रोमा छन् ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Golfer Rahul leads by one stroke

What you should know

धरान — डी एन्ड डी एमेच्योर गल्फ च्याम्पियनसिपको पहिलो दिन गल्फर राहुल विश्वकर्मा एक स्ट्रोकको अग्रता लिएका छन् ।

धरान गल्फ क्लबमा भएको प्रतियोगिताको पहिलो दिन २ ओभर ७२ स्कोर जोडेका राहुलले सुन्दर राईलाई १ स्ट्रोकले पछि पारे । ३ ओभर ७३ खेलेका सुन्दर राई दोस्रोमा छन् । ५ ओभर ७५ स्कोरका साथ पदमहाङ लिम्बू, राम तामाङ, राजेश राई र भरत तामाङले संयुक्त तेस्रो स्थान बाँडे ।

पहिलो दिनको खेल ६ ओभर ७६ मा सकाएका देउकुमार राई र जीवन राई संयुक्त सातौ स्थानमा रहे । ७ ओभर ७७ स्कोर बनाएका बुद्धिमान सुनुवार र गजेन्द्र लिम्बूले संयुक्त नवौं स्थानमा पहिलो १८ होलको खेल पुरा गरे ।

राष्ट्रिय टिमका सदस्य राहुलले फ्रन्ट नाइन २ ओभर ३८ खेले । बोगीबाट दिनको सुरूवात गरेका उनले चौथो र सातौं होलमा पनि शट खेर फाले । तेस्रो होलमा बर्डी प्रहार गरे । यसपछि १२ औं होलको बर्डीविरुद्ध १५ औं होलको बोगीले ब्याक नाइन इभन–पार ३४ खेले ।

सुन्दर राईले पााचौ होलमा एक शट जोगाए पनि चौथो र आठौं होलमा बोगी तथा ४ पारको नवौं होलमा डबल बोगी प्रहार गरे । उनले फ्रन्टनाइन ३ ओभर ३९ मा सके । यसपछि १३ र १८ औं होलमा बर्डी प्रहार गरे । तर १४ औं होलको डबल बोगीले ब्याक नाइन इभन–पार ३४ मा पुरा गरे ।

प्रतियोगितामा ३८ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।  ब्रिटिस सेनामा कार्यरत धरानका गल्फर देउकुमार राई र दीपेन्द्र राईको प्रायोजनमा भएको दुई दिने प्रतियोगिता नेपाली गल्फमा ऐतिहासिक हो । एमेच्योर नेपाली गल्फरको लागि पहिलो पटक नगद पुरुस्कार राशीको प्रतियोगिताको थालनी भएको छ । पुरस्कार राशि २ लाख रुपैयाँ रहेको छ ।

प्रतियोगिताका विजेताले ५० हजार रुपैयाा र उपविजेताले ३० हजार प्राप्त गर्नेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully