प्रो शुक्रको टिमलाई इस्टर्न ओपन प्रो–एम उपाधि

पूर्व नेपाल नम्बर एक प्रो शुक्रले ३७ अंक बटुले । उनले काउन्टब्याकमा सञ्जय लामालाई पछि पारे ।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

Pro Shukra's team wins Eastern Open Pro-Am title

What you should know

धरान — प्रो शुक्रबहादुर राईको टिमले सूर्य नेपाल इस्टर्न ओपनको प्रो–एम उपाधि जितेको छ । पार–७० को धरान गल्फ क्लबमा शनिबार शुक्रसहित एमेच्योर सोम गुरुङ, पूर्ण लिम्बू र आवास भट्टराईसम्मिलित टोलीले कुल १५८ अंक जोड्दै उपाधि जितेको हो । पूर्व नेपाल नम्बर एक प्रो शुक्रले ३७ अंक बटुले । उनले काउन्टब्याकमा सञ्जय लामालाई पछि पारे । एमेच्योरतर्फ सोमले ४२ अंक जोड्दा पूर्णले ४० र आवासले ३९ अंक जोडे ।

प्रो सञ्जय लामा, एमेच्योर लोकेन्द्र राई, दिवस तुलाधर र मानबहादुर लिम्बूसम्मिलित टोली १५० अंकसहित दोस्रो भयो । सञ्जय र मनबहादुरले समान ३७ अंक जोडे भने लोकेन्द्र र दिवसले समान ३८ अंक बटुले ।

प्रो बलभद्र राई तथा एमेच्योर नकुलबहादुर रायमाझी, सिद्धान्त सापकोटा र वसन्त राईको टोली १४६ अंकसहित तेस्रो भयो । स्थानीय अनुभवी बलभद्र र एमेच्योर वसन्तले समान ३६ अंक जोडे भने नकुल र सिद्धान्तले ३७/३७ अंक बटुले ।

बिना सापकोटाले ३० अंकसहित महिलातर्फ उत्कृष्ट स्कोरको पुरस्कार जित्न सफल रहिन् । मेजर नकुलबहादुर रायमाझीले लङ्गेस्ट ड्राइभ र उज्ज्वल राईले क्लोजेस्ट टु द पिनको उपाधि जिते । स्टेबलफोर्ड फुल ह्यान्डिक्याप फर्म्याटमा खेलाइएको प्रतियोगितामा प्रो १५ र एमेच्योर ५५ गरी कुल ७० गल्फरले सहभागिता जनाएका थिए । विजेतालाई नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई र कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयश प्याकुरेलले पुरस्कार प्रदान गरे ।

यसअघि शुक्रबार सम्पन्न सूर्य नेपाल इस्टर्न ओपन नेपाल नम्बर एक प्रो नीरज तामाङले जितेका थिए । एमेच्योर राहुल विश्वकर्मा दोस्रो र बलभद्र राई तेस्रो भएका थिए ।

कान्तिपुर

Link copied successfully