गोल्डेनपिक, इबीए र रिब्स बास्केटबल च्याम्पियन  

गोल्डेनपिक सिनियर ब्वाइज, ईबीए जुनियर ब्वाइज र रिब्स सिनियर गर्ल्समा च्याम्पियन बनेका थिए । गोल्डेनपिक र ईबीए अपराजित भएर विजेता बन्दा रिब्स समूह चरणमा एक खेलमा पराजित भयो ।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

GoldenPick, EBA and Ribs Basketball Champions

काठमाडौँ — गोल्डेनपिक, इडेन ब्रिज एकेडेमी (ईबीए) र डिफेन्डिङ च्याम्पियन रिब्सले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

गोल्डेनपिक सिनियर ब्वाइज, ईबीए जुनियर ब्वाइज र रिब्स सिनियर गर्ल्समा च्याम्पियन बनेका थिए । गोल्डेनपिक र ईबीए अपराजित भएर विजेता बन्दा रिब्स समूह चरणमा एक खेलमा पराजित भयो । गोल्डेनपिकले पहिलो संस्करणपछि पहिलो पटक सहभागिता जनाएको हो । ईबीए पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भयो ।

आयोजक केएमसीमा शनिबार भएको सिनियर ब्वाइज फाइनलमा गोल्डेनपिकले बालदीक्षा सदनलाई ४८–४५ स्कोरले पराजित गर्‍यो । गोल्डेनपिकका विजय तामाङले २१ स्कोर जोडे । जुनियर ब्वाइजको फाइनलमा ईबीएले ग्रिनफिल्डलाई ४१–२१ ले हरायो । ईबीएका दिग्विजय पुरीले ११ स्कोर गरे ।

गर्ल्सको फाइनलमा रिब्सले चेल्सी वर्ल्ड स्कुललाई २५–२१ ले हराएर उपाधि रक्षा गर्‍यो । रिब्सकी सुप्रिया मल्लले ११ स्कोर जोडिन् । रिब्सले चेल्सीसँग समूह चरणमा बेहोरेका हारको बदला पनि लियो ।

फाइनलका सर्वाधिक स्कोरकर्तात्रय विजय, दिग्विजय र सुप्रिया आ–आफ्नो विधामा मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । सिनियर ब्वाइजमा नेपाल सेन्ट्रल, सिनियर गर्ल्समा मानाङ्क चिल्ड्रेन र जुनियर ब्वाइजमा गोल्डेन फ्लावरले ‘स्पिरिट अफ केएमसी बास्केटबल अवार्ड’ हात पारे ।

विजेतालाई बागमती प्रदेशकी युवा तथा खेलकुदमन्त्री उर्मिला नेपाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष किशोर गौतम, केएमसीका कार्यकारी निर्देशक डा. ध्रुव भट्टराईलगायतले पुरस्कृत गरे ।  

GoldenPick, EBA and Ribs Basketball Champions

कान्तिपुर संवाददाता

Link copied successfully