विजेताले ५० हजार र उपविजेताले ३० हजार प्राप्त गर्नेछन् ।
What you should know
धरान — डी एन्ड डी एमेच्योर गल्फ च्याम्पियनसिप आइतबार धरान गल्फ क्लबमा सुरु हुनेछ ।
ब्रिटिस सेनामा कार्यरत धरानका गल्फर देवकुमार राई र दीपेन्द्र राईको प्रायोजनमा दुई दिने च्याम्पियनसिप हुन लागेको हो । नेपाली गल्फ इतिहासमा यो च्याम्पियनसिपले विशेष महत्व राख्ने अपेक्षा गरिएको छ । एमेच्योर गल्फरका लागि पहिलो पटक नगद पुरस्कार राशिको प्रतियोगिता हुँदै छ । त्यसैले यसलाई नेपाली गल्फको नयाँ अध्याय बन्न सक्ने छ । प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख रुपैयाँ रहेको छ।
एमेच्योर गल्फको प्रवर्द्धन तथा उदीयमान गल्फरलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस च्याम्पियनसिपमा ९ वा सोभन्दा कम ह्यान्डीक्याप भएका एमेच्योर गल्फरले सहभागिता जनाउन पाउने नियम छ । ३६ होलको कुल ३८ खेलाडीको हुनेछ । स्ट्रोक प्ले फर्म्याटमा प्रतियोगिता गरिनेछ ।
विजेताले ५० हजार र उपविजेताले ३० हजार प्राप्त गर्नेछन् । तेस्रो, चौथो र पाँचौं स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः २४ हजार, २० हजार र १६ हजार जित्नेछन् । शीर्ष १० स्थानसम्म रहने खेलाडीले नगद प्राप्त गर्नेछन् ।
प्रायोजक देवकुमार राईले नेपालमा एमेच्योर गल्फको विकासमा योगदान पुर्याउने उद्देश्यले च्याम्पियनसिप सुरु गरिएको बताए । उनले एमेच्योर गल्फरले प्रायः ट्रफी मात्र पाउने भएकाले आर्थिक भार कम गर्न नसक्ने बताउँदै नगद पुरस्कारले खेलाडीलाई सहयोग पुग्ने र खेल खेल्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
अर्का प्रायोजक दीपेन्द्र राईले एमेच्योर गल्फरको स्तर बढाउन, अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिनिधित्व गर्न सक्ने बनाउनुका साथै भविष्यमा प्रोफेसनल खेलाडी बन्ने र खेलकै माध्यमबाट जीविकोपार्जन गर्न सक्षम बनाउने दीर्घकालीन लक्ष्य रहेको बताए । उनले यो प्रतियोगिता कम्तीमा ५ वर्षसम्म निरन्तर रूपमा आयोजना गर्ने प्रतिबद्ध रहेको पनि जानकारी दिए ।
बेलायतमा रहेका नेपाली प्रवासीबीच बलियो गल्फ समुदाय रहेको उल्लेख गर्दै उनले भविष्यमा यस च्याम्पियनसिपलाई राष्ट्रियस्तरको प्रतियोगितामा रूपान्तरण गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार आगामी वर्षमा धरान बाहिर समेत प्रतियोगिता विस्तार गर्ने विषयमा सरोकारवाला निकायहरूसँग परामर्श गरिने समेत जानकारी दिए ।
प्रतियोगिताका लागि नेपाल गल्फ संघले प्राविधिक सहयोग गर्नेछ ।
