नीरजले फेरि जिते सूर्य नेपाल इस्टर्न ओपन

समग्रमा ५४ होलको खेलमा १५ अन्डर १ सय ९५ को लोभलाग्दो स्कोर बनाएर नीरज उपाधि रक्षा गर्न सफल भए ।

माघ २, २०८२

कान्तिपुर संवाददाता

Neeraj wins Surya Nepal Eastern Open again

What you should know

धरान — नेपाल नम्बर एक गल्फर नीरज तामाङले सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गरेका छन् । नीरजले शुक्रबार पार ७० को धरान गल्फ क्लबमा तेस्रो तथा अन्तिम राउन्डमा ३ अन्डर ६७ को कार्ड बनाए ।

समग्रमा ५४ होलको खेलमा १५ अन्डर १ सय ९५ को लोभलाग्दो स्कोर बनाएर नीरज उपाधि रक्षा गर्न सफल भए । उनले एमेच्योर गल्फर राहुल विश्वकर्मालाई ६ स्ट्रोकले पछि पार्दै करिअरको चौथो उपाधि जितेका हुन् । नीरजले १ लाख ७० हजार रुपैयाँ पाए ।

राहुलले २ अन्डर ६८ खेल्दै ९ अन्डर २ सय १ को कुल स्कोरसहित समग्रमा दोस्रो स्थान हासिल गरे । उनले एमेच्योरतर्फको उपाधि जिते । अनुभवी प्रो बलभद्र राईले अन्तिम दिन ५ अन्डर ६५ को उत्कृष्ट प्रदर्शनमा समग्रमा ६ अन्डर २ सय ४ को स्कोरसहित प्रोफेसनलतर्फ दोस्रो भए । बलभद्रले १ लाख २५ हजार पाए ।

दिनेश प्रजापतिले ४ अन्डर २‌ सय ६ स्कोरसहित प्रोतर्फ तेस्रो र समग्रमा चौथो स्थान हासिल गरे । अन्तिम राउन्डमा ३ अन्डर ६९ खेलेका उनले १ लाख रुपैयाँ पाए । टंकबहादुर कार्की (७१) र पूर्व नेपाल नम्बर एक प्रो भुवन नगरकोटी (६९) ले ३ अन्डर २‌ सय ७ को स्कोरसहित प्रोतर्फ संयुक्त चौथो स्थान बाँडे र दुवैले ७७ हजार रुपैयाँ प्राप्त गरे ।

रवि खड्का १ अन्डर २ सय ९ को स्कोरसहित प्रोफेसनलतर्फ छैटौं स्थानमा रहेर ६४ हजार जित्न सफल भए । लिडर ग्रुपमा खेलेका शुक्रबहादुर राई अन्तिम राउन्डमा ४ ओभर ७४ खेल्दा समग्रमा इभन पार २१० सहित आठौं स्थानमा तल झरे । उनले ५७ हजार पाए ।

प्रोतर्फ सुमन परियार (६९) कुल २ ओभर २ सय १२ स्कोरसहित आठौं स्थानमा रहे भने सञ्जय लामा (६८)  समग्रमा २ सय १३ सहित नवौं स्थान र २ सय १८ को स्कोरमा सुनिल केसी (७४) दसौं स्थानमा रहे । उनीहरूले क्रमशः ५१ हजार, ४६ हजार र ४२ हजार रुपैयाँ प्राप्त गरे । शीर्ष १८ भित्र पर्ने प्रोफेसनल खेलाडीले नगद पुरस्कार पाए । प्रतियोगिताको दोस्रो दिन १४ औं होलमा होल इन वान गरेका प्रो जयराम श्रेष्ठले ५ हजार पुरस्कार प्राप्त गरे ।

एमेच्योरतर्फ पदमहाङ लिम्बूले अन्तिम राउन्डमा ३ अन्डर ६९ खेल्दै २ सय ११ को कुल स्कोरसहित उपविजेता बने । सुन्दर राई (६८) ३ ओभर २ सय १३ स्कोरसहित तेस्रो भए ।

विजेता नीरजले फ्रन्टनाइनमा ३ अन्डर ३३ खेल्ने क्रममा दोस्रो, तेस्रो र चौथो होलमा लगातार बर्डी प्रहार गरे । ब्याक नाइनमा उनले १०, १३, १४ र १५ औं होलमा बोगी खेपर पनि ११, १२, १६ र १८ औं होलमा बर्डीको सफलतामा इभन पार ३४ खेले । राहुलले फ्रन्टनाइनमा तेस्रो, छैटौं र नवौं होलमा बर्डी तथा सातौं होलमा बोगीसहित २ अन्डर ३४ खेले । ११ औं होलमा बोगी र १८ औं होलको बर्डीले ब्याकनाइन इभन पार ३४ खेले ।

स्थानीय प्रो बलभद्रले आठ बर्डी प्रहार गर्दै फ्रन्टनाइनमा २ अन्डर ३४ र ब्याकनाइनमा ३ अन्डर ३१ खेले । उनले दोस्रो, तेस्रो, चौथो र आठौं होलमा बर्डी तथा पहिलो र छैटौं होलमा बोगी खेपे । ब्याक नाइनमा १५ औं होलमा एक शट खेर फाले पनि ११, १२, १७ र १८ औं होलमा बर्डी प्रहार गरे ।

विजेतालाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल मेनेजर केशव प्रधान, नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत तामाङ, सुनसरी गल्फ संघका अध्यक्ष जितेन्द्र राई र धरान गल्फ क्लबका अध्यक्ष हरि राईले पुरस्कार वितरण गरे । शनिबार प्रो एम हुनेछ ।   

कान्तिपुर संवाददाता

Link copied successfully