धरान गल्फ क्लबमा बिहीबार ६ अन्डर ६४ को स्कोरसहित नीरजले एमेच्योर गल्फर राहुल विश्वकर्मालाई पछाडि पारेका थिए ।
What you should know
धरान — नेपाल नम्बर एक प्रो गल्फर नीरज तामाङ सूर्य नेपाल इस्टर्न ओपन गल्फमा ५ स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा कायम छन् ।
धरान गल्फ क्लबमा बिहीबार ६ अन्डर ६४ को स्कोरसहित नीरजले एमेच्योर गल्फर राहुल विश्वकर्मालाई पछाडि पारेका थिए । नीरजले समग्रमा १२ अन्डर १ सय २८ लोभलाग्दो प्रदर्शन गरेका छन् । राहुल पनि ६ अन्डर ६४ को स्कोर निकाल्दै समग्रमा ७ अन्डर १ सय ३३ सहित दोस्रो स्थानमा रहे ।
समग्रमा ४ अन्डर १ सय ३६ को स्कोरसहित धरानका प्रो शुक्रबहादुर राई र टंकबहादुर कार्की संयुक्त तेस्रो स्थान बाँडे । शुक्रले ३ अन्डर ६७ र टंकले १ अन्डर ६९ मा दोस्रो दिनको खेल टुंग्याए । ४ अन्डर ६६ खेल्दै दिनेश प्रजापती समग्रमा ३ अन्डर १ सय ३७ सहित पाँचौं स्थानमा रहेका छन् । समग्रमा १ अन्डर १ सय ३९ सहित रवि खड्का, भुवन नगरकोटी र बलभद्र राई संयुक्त छैटौं स्थान रहे । रविले १ अन्डर ६९, भुवनले इभन पार ७० र बलभद्रले २ ओभर ७२ को स्कोर बनाए ।
समग्रमा २ ओभर १ सय ४२ स्कोरसहित दुई एमेच्योर पदमहाङ लिम्बू र प्रकृत तामाङ नवौ स्थानमा रहे । पदमले २ अन्डर ६८ र प्रकृतले ३ ओभर ७३ को स्कोर बनाएका थिए ।
नेपाल नम्बर एक नीरजले घरेलु कोर्समा लागातार दोस्रो दिन ६ अन्डर खेल्ने क्रममा दोस्रो, तेस्रो, पाँचौं, छैटौं, आठौं र नवौं होलमा बर्डीको सफलता पाए । ६ बर्डीको सहायतामा बोगी फ्री ६ अन्डर ३० मा फ्रन्टनाइनको खेल सानदार शैलीमा टुंग्याए । ११ औं होलमा पनि एक शट बचाए तर १५ औं होलको बोगीले ब्याकनाइन इभन पार ३४ मा सके ।
राहुलले बिहीबार बोगीरहित कार्ड बनाउने क्रममा फ्रन्टनाइन ३ अन्डर ३३ र ब्याकनाइन पनि ३ अन्डर ३१ मा सकाए । उनले पाँचौं, छैटौं नवौं, दसौं, १२ औं र १८ औं होलमा गरी कुल ६ बर्डीको सफलता निकाले ।
शुक्रले दोस्रो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे पनि चौथो र पाँचौं होलमा शट खेर फाल्दै फ्रन्टनाइन १ अन्डर ३५ मा पूरा गरे । यसपछि १२ र १५ औं होलमा बर्डी खेल्दै ब्याकनाइन २ अन्डर ३२ मा सके ।
टंकले दोस्रो होलको बोगीविरुद्ध पहिलो र सातौं होलमा बर्डी खेप्दा फ्रन्टनाइन १ अन्डर ३५ मा टुंग्याए । यसपछि १०, १२ र १८ औं होलमा शट बचाए । उनले ११, १४ र १५ औं होलको बोगीले ब्याकनाइन इभन पार ३४ मा सके ।
३६ होल समाप्तिमा ११ ओभर १५१ सम्म स्कोर गरेका १७ प्रोफेसनल र ७ एमेच्योर खेलाडीले कट बनाएका छन् । १४ औं होलमा होल इन वान गरेका जयराम श्रेष्ठसहित प्रो सुमन परियार, सुनिल केसी, सञ्जय लामा, सुमन राई, भुवन रोक्का, दीपक मगर, कृष्णमान राजबाहक, सुरेश तामाङ, सूर्यप्रसाद शर्मा र धनबहादुर थापाले तेस्रो र अन्तिम दिनको लागि स्थान सुरक्षित गरेका छन् ।
एमेच्योरतर्फ राहुल ७ अन्डर १३३ स्कोर बनाएर शीर्षस्थानमा छन् । उनी पदमहाङ र प्रकृत तामाङभन्दा ९ स्ट्रोकले अगाडि छन् । अन्य चार एमेच्योर खेलाडी सुन्दर राई, राम तामाङ, जितेन्द्र राई र बलराम पौडेलले पनि कट बनाएका छन् ।
११ ओभर १५१ स्कोर गरे पनि शिवकुमार माझी, थामबहादुर राई, राजेन राई तथा एमेच्योर गजेन्द्र लिम्बूल काउन्टब्याकका आधारमा कट बनाउन सकेनन् ।
