रूपन्देहीद्वारा टी–२० सिरिज पनि कब्जा

रूपन्देहीले बुधबार टी–२० अन्तर्गतको दोस्रो खेल जितेर सिरिज कब्जा गरेको हो ।

पुस ३०, २०८२

दीपेन्द्र बडुवाल

Rupandehi also captured the T-20 series

भैरहवा — रूपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा सञ्चालन भएको ‘पवनकुमार सेठिया स्मृति क्रिकेट’ अन्तर्गत रूपन्देही–११, ले त्रिभुवन आर्मी क्लब ‘ए’ विरुद्ध टेष्ट, वान–डे र टी–२० सिरिज जित्न सफल भएको छ ।

रूपन्देहीले बुधबार टी–२० अन्तर्गतको दोस्रो खेल जितेर सिरिज कब्जा गरेको हो । 

रूपन्देहीले बुधबार आर्मीलाई ६ विकेटले पराजित गर्‍यो। मंगलबार पहिलो खेलमा रूपन्देही २६ रनले विजयी भएको थियो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जितका लागि १ सय १९ रनको लक्ष्य प्राप्त गरेको थियो । रूपन्देहीले १७ ओभरमा ४ विकेट गुमाएर जित पक्का गर्‍यो ।

रूपन्देहीका लागि आकाश त्रिपाठीले अविजित ३९, सन्दीप मौर्यले २४, आरिफ खानले १८, सन्दीप रजालीले १५ र विजय प्रजापतिले नटआउट १२ रनको योगदान गरे ।

बलिङमा आर्मीका जितेन्द्रसिंह ठकुरी र प्रेम गुरुङले २–२ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले सबै विकेट गुमाएर १ सय १८ रनको मध्यम योगफल खडा गरेको थियो । उसका लागि निर्मल शाहीले ४०, लक्ष्मण परियारले २१, प्रदीप पेलाले २० र जितेन्द्रसिंह ठकुरीले १० रन बनाए । 

बलिङमा रूपन्देहीका विष्णु कटरिया, आकाश त्रिपाठी र इकलाख अहमद वारिसले समान २–२ विकेट लिए । टी–२० सिरिजअन्तर्गत बिहीबार अन्तिम खेल सञ्चालन हुने प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

दीपेन्द्र

Link copied successfully