हिमालयन च्यालेन्जर्सको तेस्रो चरणका खेल सकिँदा अनरेटेड लियोनले तीनै खेलमा रेटेड खेलाडीलाई हराएका छन् ।
काठमाडौँ — पुष्पसदन हाइस्कुलका लियोन महर्जनले बुधबार हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा हार्दिक पन्तलाई पराजित गरेका छन् ।
१२ वर्षीय लियोनले दुई घन्टा ४५ मिनेटको प्रतिस्पर्धापछि १६०५ रेटेड हार्दिकको चुनौती पन्छाए । हिमालयन च्यालेन्जर्सको तेस्रो चरणका खेल सकिँदा अनरेटेड लियोनले तीनै खेलमा रेटेड खेलाडीलाई हराएका छन् । यसअघि उनले ईश्वर लामा (१५५१) र अनमोल राई (१५३४) लाई पराजित गरेका थिए । उनले चौथो चरणमा वुधबार १६०७ रेटेड रोहित श्रेष्ठविरुद्ध खेल्ने छन् ।
तेस्रो दिन शीर्ष वरीयताका अभिक शाह (१९१८ रेटेड) र सजल न्यौपाने (१६९७) ले शतप्रतिशत जित कायम राखे । सेन्ट जेभियर्सका अभिकले शुभांग प्रधान र ब्रिटिस कलेजका सजलले निहाना श्रेष्ठको अपराजित यात्रामा पूर्णविराम लगाइदिए ।
तेस्रो चरणमा अग्रता आचार्यले सात्विकमान तुलाधर, रोहित श्रेष्ठले रेयांश खनाल, विमश लोहनीले ईश्वर लामा, अनमोल राईले नायुमा मगर, आशीर्वाद थापाले अभिक रेग्मी, प्रवीर केसीले रेयांश महर्जन, उजिभानी कँडेलले विराज सरिया, निभा राईले रियांशु पौडेल, वियांका गौतमले श्रेयांश सापकोटा, सूर्यप्रताप कार्कीले ओजस्वी श्रेष्ठ र अरण्य तुलाधरले अभियान राईविरुद्ध जित निकालेका छन् ।
प्रतियोगितामा अभिक, सजल र लियोन तेस्रो चरणसम्म शतप्रतिशत जितसहित अगाडि छन् ।
