यस अभियानअन्तर्गत नगरका विभिन्न विद्यालयमा हरेक साताको शनिबार छात्राहरूलाई क्रिकेट खेलाइनेछ ।
सिरहा — सिरहाको कर्जन्हा नगरपालिकामा 'क्रिकेट फर वास' अभियानको थालनी भएको छ । बन्दीपुरस्थित फूलकुमारी महतो माध्यमिक विद्यालयमा एक कार्यक्रमबीच बुधबारदेखि यो अभियानको थालनी भएको हो ।
सबल नेपाल र डब्ल्यू एचएचले कर्जन्हा नगरपालिकासँग समन्वय गरी थालनी गरेको यो अभियानको नेपाल क्रिकेट संघका सचिव पारस खड्काले ब्याटिङ गर्दै उद्घाटन गरे ।
यस अभियानअन्तर्गत नगरका विभिन्न विद्यालयमा हरेक साताको शनिबार छात्राहरूलाई क्रिकेट खेलाइनेछ । क्रिकेटबाट समाजमा सरसफाइ र स्वच्छतासम्बन्धी संदेश प्रवाह गर्ने उद्देश रहेको सबल नेपालका कार्यकारी निर्देशक दीपक झाले जानकारी दिए ।
यो अभियानमा अहिले सबल नेपाल र डब्ल्यू एचएचकै लगानी भए पनि यसलाई निरन्तर राख्न नगरपालिकाले पनि सहयोग गर्ने नगर प्रमुख भोलाप्रसाद पोखरेलले जानकारी दिए ।
उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठले यो अभियानले समाजमा अझै दबिएर रहेका महिलालाई अगाडि ल्याउन मद्दत गर्ने र समाजमा स्वच्छतासम्बन्धी सचेतना फैलाउने विश्वास व्यक्त गरिन् ।
अहिले कर्जन्हा नगरपालिकामा मात्रै सुरु गरेको भए पनि क्रमशः यो अभियानलाई विस्तार गर्दै लैजाने संस्थाले जनाएको छ ।
