जयबागेश्वरीमा वडा अध्यक्ष कप तेक्वान्दो हुने

माघ ३ गते हुने प्रतियोगितामा २ सय १० खेलाडीले विभिन्न १३ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

Ward Chairman's Cup Taekwondo to be held in Jayabageshwori

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा ८ को सहयोग तथा पिङ्ला तेक्वान्दो डोजाङको आयोजनामा वडा अध्यक्ष तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

माघ ३ गते हुने प्रतियोगितामा २ सय १० खेलाडीले विभिन्न १३ स्पर्धामा प्रतिस्पर्धा गर्ने संयोजक वडा ८ का अध्यक्ष आशामान संगतले मंगलबार पत्रकार सम्मेलनमा बताए ।

ग्योरोगी जुनियर पुरुषमा ४५ केजी, ४८ केजी र ५१ केजीमुनि तथा महिलामा ४२ केजी र ४६ केजीमुनि तथा सिनियर पुरुषमा ५४ केजी, ५८ केजी, ६३ केजी र ६८ केजीमुनि तथा महिलामा ४६ केजीमुनि, ४९ केजी, ५३ केजी र ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा हुने सह–संयोजक एवं आयोजक डोजाङका अध्यक्ष सुरेन्द्र डंगोलले बताए ।

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ४ हजार, ३ हजार र २ हजार पुरस्कार प्राप्त गर्ने छन् । आयोजकका अुनसार विश्व तेक्वान्दो महासंघ र नेपाल तेक्वान्दो संघको नियमअनुसार हुने प्रतियोगिताको अनुमानित बजेट ५ लाख ८७ हजार रुपैयाँ रहेको छ । एकदिने प्रतियोगिताका खेल जयबागेश्वरीस्थित गोल्डेन दरबार बैंक्युटमा खेलाइने छ । 

कान्तिपुर

Link copied successfully