सडन डेथमा निर्णायक गोल गर्दै सेकाहा सामुदायिक क्लबले फाइनलको टिकट पक्का गर्यो । अब उसले माघ १ मा संखुवासभाकै मकालु फ्रेन्ड्स क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
संखुवासभा — तीनपोखरी कप फुटबल प्रतियोगितामा सेकाहा सामुदायिक क्लब फाइनलमा प्रवेश गरेको छ। मंगलबार खाँदबारी रंगशालामा भएको रोमाञ्चक सेमिफाइनल खेलमा सेकाहाले संखुवासभाकै शीत्तलपाटी फुटबल क्लबलाई सडन डेथमा १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
निर्धारित समयसम्म दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि गोलको खाता खोल्न सकेनन्। खेल बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा पनि दुवै टोली गोल गर्न असफल भएपछि नतिजा सडन डेथबाट टुंग्याइएको थियो। सडन डेथमा निर्णायक गोल गर्दै सेकाहाले फाइनलको टिकट पक्का गर्यो।
अब सेकाहा सामुदायिक क्लबले माघ १ गते संखुवासभाकै मकालु फ्रेन्ड्स क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
संखुवासभासहित पूर्वी नेपालका आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा दर्शकको उल्लेखनीय उपस्थिति देखिएको थियो। प्रतियोगिताको विजेता टोलीले नगद २ लाख ५१ हजार रुपैयाँ तथा उपविजेताले १ लाख २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक तीनपोखरी क्लबले जनाएको छ।
