नेपालले तेस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्न लागेको हो । नेपालले यसअघि सन् २०१४ र २०२४ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो ।
काठमाडौँ — नेपालले अर्को महिना हुने ट्वान्टी–२० विश्वकप तयारीका क्रममा श्रीलंकाको कोलम्बो र भारतको मुम्बईमा अभ्यास खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले जनाएअनुसार नेपालले कोलम्बोमा श्रीलंका ‘ए’ सँग तीन खेल्ने छ ।
नेपालले जनवरी २० मा एसएलएलडीसीमा, २२ र २४ मा कोल्ट्समा तीन खेलको शृंखला खेल्नेछ । नेपालले दोस्रो चरणको तयारीमा मुम्बईमा थप दुई खेल्ने क्यानले मंगलबार जनाएको छ । त्यसक्रममा नेपालले जनवरी २९ र ३१ मा मुम्बई क्रिकेट एसोसिएसन प्रेसिडेन्ट ११ सँग दुई खेल खेल्नेछ । दोस्रो खेल दिवारात्रि हुने जनाइए पनि खेलस्थल तोकिएको छैन ।
नेपालले रोहित पौडेलको कप्तानीमा यसअघि नै १५ सदस्यीय विश्वकप टोली घोषणा गरिसकेको छ । नेपालले तेस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्न लागेको हो । नेपालले यसअघि सन् २०१४ र २०२४ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो ।
नेपालले समूह चरणमा इंग्ल्यान्डसँग फेब्रुअरी ८, इटालीसँग १२, वेस्ट इन्डिजसँग १५ र बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्ने तालिका छ । नेपालले समूह चरणका सबै खेल मुम्बईको वाङ्खडे रंगशालामा खेल्नेछ ।
