माघ १४ देखि हुने प्रतियोगितामा ४ डबल्स र १ सिंगल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुनेछन् ।
What you should know
काठमाडौँ — नखिपोट युवा क्लबले नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सहआयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ ।
माघ १४ देखि हुने प्रतियोगितामा ४ डबल्स र १ सिंगल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष इन्द्रजित लिम्बूले पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुष डबल्स ‘ए’ डिभिजन र ‘बी’ डिभिजन, यु–१७ ब्वाइज सिंगल्स, महिला डबल्स र भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा प्रतिस्पर्धा हुनेछ ।
पुरुष डबल्स ‘ए’ मा शीर्ष २० वरीयताका खेलाडीले सहभागी हुन पाउने छैनन् । नेपाल ब्याडमिन्टन संघसंग छलफल गरी पुरुष डबल्स ‘बी’ क्याटगोरीमा सहभागी हुन पाउने खेलाडीको टुंगो लगाइने आयोजकले जनाएको छ । महिला डबल्समा शीर्ष १० वरीयता बाहेकका खेलाडीलाई अवसर दिइने छ ।
प्रतियोगिताको कुल पुरस्कार राशि ३ लाख ७० हजार रुपैयाँ रहेको क्लबका महासचिव पुष्पराज राईले जानकारी गराए । पुरुष डबल्स ‘ए’ मा पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०–१० हजार पुरस्कार जित्नेछन् ।
पुरुष डबल्स ‘बी’, महिला डबल्स र भेट्रान डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । यु–१७ को विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले २.५/२.५ हजार नगद पुरस्कार हात पार्ने छन् ।
प्रतियोगितामा करिब २ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । आयोजककै कभर्डहलमा हुने चारदिने प्रतियोगिता सञ्चालन गर्न करिब १८ लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले बताए ।
आयोजक क्लबको प्रतिनिधित्व गरी विभिन्न घरेलु प्रतियोगितामा पदक जित्न सफल निसाम हाङ्मा लिम्बूलाई सम्मान पनि गरिएको थियो । खेलकुद तथा विभिन्न सामाजिक कार्यमा सक्रिय नखिपोट युथ क्लब २०५६ सालमा स्थापना भएको थियो ।
