तीनपाेखरी कप: मकालु फ्रेन्डसको सशक्त प्रदर्शन

गत वर्षको उपाधि विजेता झापाको चुलाचुली स्पोर्टिङ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मकालु उपाधिनजिक पुगेको हो।

पुस २८, २०८२

दीपेन्द्र शाक्य

Tinpokhari Cup: Makalu Friends' strong performance

संखुवासभा — तेस्रो संस्करणको तीनपोखरी कप फुटबल प्रतियोगितामा मकालु फ्रेन्डस क्लब फाइनलमा प्रवेश गरेको छ।

सोमबार खाँदबारी रंगशालामा सम्पन्न सेमिफाइनल खेलमा गत वर्षको उपाधि विजेता झापाको चुलाचुली स्पोर्टिङ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मकालु उपाधिनजिक पुगेको हो।

खेलको दोस्रो हाफमा मकालु फ्रेन्डसले आक्रामक खेल प्रस्तुत गर्दै निर्णायक अग्रता बनायो। खेलको ९औँ मिनेटमा जीवन मगरले पहिलो गोल गरेर टोलीलाई अग्रता दिलाए भने १५औँ मिनेटमा सागर कटुवालले अर्को गोल थप्दै चुलाचुलीको पुनरागमनको सम्भावनालाई समाप्त गरे।

गत वर्षको च्याम्पियन टोली चुलाचुली स्पोर्टिङ क्लबलाई हराउँदै फाइनल यात्रा तय गर्नु मकालु फ्रेन्डसका लागि विशेष उपलब्धि मानिएको छ। दर्शकहरूले भरिएको रंगशालामा मकालुको संयमित रक्षा र तीव्र आक्रमणले खेललाई पूर्ण रूपमा नियन्त्रणमा राखेको देखिन्थ्यो।

अब प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल मंगलबार खाँदबारी रंगशालामै हुनेछ। उक्त खेलमा संखुवासभाकै सेकाहा सामुदायिक क्लब र शीतलपाटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। यस खेलको विजेताले मकालु फ्रेन्डससँग उपाधिका लागि भिड्नेछ।

संखुवासभासहित पूर्वी नेपालका आठ टोली सहभागी प्रतियोगिताको फाइनल खेल माघ १ गते आयोजना गरिने आयोजक तीनपोखरी क्लबले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले नगद २ लाख ५१ हजार रुपैयाँ तथा उपविजेता टोलीले १ लाख २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

दीपेन्द्र

Link copied successfully