राइजिङ स्टार यू–१२ क्रिकेट हुने

राइजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगिता माघ १ देखि सिफल मैदानमा हुनेछ ।

पुस २८, २०८२

कान्तिपुर संवाददाता

Rising Star U-12 Cricket to be held

What you should know

काठमाडौँ — राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता हुने भएको छ । राइजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगिता माघ १ देखि सिफल मैदानमा हुनेछ ।

सहभागी कुल २७ टिममध्ये ८ टिम उपत्यका बाहिरको रहने एकेडेमीका अध्यक्ष सुनिलमान अमात्यले बताए । नेपाल क्रिकेट संघका पूर्व उपाध्यक्ष उनले जिल्ला स्तरका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित बाहिरबाट आउने टोलीका लागि प्रवेश शुल्क निःशुल्क गरिएको र बस्ने व्यवस्था पनि मिलाइएको बताए ।

सोमबार पत्रकार सम्मेलनमा अध्यक्ष अमात्यले घरेलु क्रिकेटको जग बलियो बनाउन उमेर समूहको प्रतियोगिता गर्दै आएको स्मरण गराए । उनका अनुसार असोजमा यू–१४ प्रतियोगिता गरिएको र फागुनमा यू–१६ प्रतियोगिता गर्ने तालिका छ ।

यू–१२ ब्वाइज प्रतियोगितामा १२ वर्षमुनि र ५ फिट ३ इञ्चसम्मका खेलाडीले मात्र खेल्न पाउने प्राविधिक निर्देशक रवीन्द्र गुप्ताले बताए । प्रतियोगिताको उत्कृष्ट ९० खेलाडी छनोट गरेर ६ टोली बनाइने र उनीहरूलाई सिंगल राउण्ड रोबिन फर्म्याटमा सेतो जर्सीमा ५० ओभरको खेलाइने आयोजकले घोषणा गरेको छ ।

उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ । २८ दिन चल्ने प्रतियोगिताको विजेताले ३० हजार र दोस्रोले २० हजार पाउनेछ । प्लेयर अफ द सिरिजलाई किट ब्याग, उत्कृष्ट ब्याटरलाई ब्याट तथा उत्कृष्ट बलरलाई क्रिकेट सुज प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई अनुपम फुडल्यान्डले मुख्य प्रायोजन गरेको छ । अनुपमका प्रबन्ध निर्देशक मधु पन्थीले उमेर समूह क्रिकेट विकासमा आयोजकले चालेको कदममा साथ दिन प्रायोजन गरेको बताए ।

कान्तिपुर

Link copied successfully