शनिबार रातिको क्वाटरफाइनलमा इजिप्टले डिफेन्डिङ च्याम्पियन आइभरी कोस्टलाई रोमाञ्चक खेलमा ३–२ ले हरायो ।
रबात — अफ्रिका कप अफ नेसन्सको सेमिफाइनल समीकरण पूरा भएको छ । अब सबैको ध्यान खिच्नेछ, फाइनल प्रवेशका लागि हुने भिडन्तले । अन्तिम चारमा पुग्न सफल टिम छन् इजिप्ट, नाइजेरिया, आयोजक मोरक्को र सेनेगल । शनिबार रातिको क्वाटरफाइनलमा इजिप्टले डिफेन्डिङ च्याम्पियन आइभरी कोस्टलाई रोमाञ्चक खेलमा ३–२ ले हरायो ।
अब बुधबार हुने सेमिफाइनलमा इजिप्टले सेनेगलको सामना गर्नेछ । यससँगै पुनर्जीवित भएको छ, अफ्रिकी फुटबलका दुई शक्तिशाली देशबीचको प्रतिद्वन्द्विता । अर्को सेमिफाइनलमा भने मोरक्को र नाइजेरिया बुधबार नै भिड्ने छन्, जुन खेल उत्तिकै सनसनीपूर्ण हुने सजिलै अनुमान गर्न सकिन्छ । शनिबारको अर्को खेलमा नाइजेरियाले अल्जेरियालाई २–० ले पराजित गरेको हो ।
आइभरी कोस्ट प्रतियोगिताबाट बाहिरिएपछि फेरि एकपल्ट डिफेन्डिङ च्याम्पियन आफूले पछिल्लो समय जितेको उपाधिको रक्षा गर्न असफल रह्यो । सन् २०१० यता कुनै पनि टिमले डिफेन्डिङ च्याम्पियनका रूपमा दोहोर्याएर उपाधि जित्न सकेको छैन । अन्तिम पटक यस्तो उपलब्धि इजिप्टले हात पारेको थियो । यो नै प्रतियोगिताको इतिहासमा सबैभन्दा सफल टिम रहेको छ ।
आइभरी कोस्टमाथि प्राप्त जितमा लिरभपुलका स्टार मोहम्मद सलाहको गोल नै निर्णायक साबित भयो । जितपछि उनले भनेका छन्, ‘म इजिप्टको जर्सी लगाएर खेल्न पाउँदा असाध्यै गर्व महसुस गर्छु । यो जर्सीले खेलाडीलाई जिम्मेवारी पनि सुम्पेको हुन्छ ।’ उनले लिभरपुलका लागि क्लब स्तरमा सबै उपाधि जिते पनि इजिप्टका लागि अहिलेसम्म कुनै सफलता आत्मसात् गरेका छैनन् ।
