रसिला चौथो पटक विजेता

रसिलाले ५० हजार रुपैयाँसहित ट्रफी जितिन् । उपविजेता शेस्नाले २५ हजार प्राप्त गरिन् । तेस्रो स्थानमा आर्मीकी रिहाना शेरचन र भोजपुरकी नङसलदेवी तामाङ रहे । दुवैले समान १० हजार प्राप्त गरे ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

Rasila is the winner for the fourth time.

What you should know

काठमाडौँ — त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा लगातार च्याम्पियन बनेकी छन् । 

चारै पटक च्याम्पियन बन्ने क्रममा फाइनलमा उनले आफ्नै क्लबकी शेस्ना सिर्पालीलाई हराइन् । उनले २–१ै सेटमा जित पाइन् । पहिलो सेट २०–२२ ले पछाडि परेकी रसिलाले पुनरागमन गर्दै दोस्रो सेट २१–१५ र तेस्रो सेट २१–९ ले आफ्नो पक्षमा जित निकालिन् ।

रसिलाले ५० हजार रुपैयाँसहित ट्रफी जितिन् । उपविजेता शेस्नाले २५ हजार प्राप्त गरिन् । तेस्रो स्थानमा आर्मीकी रिहाना शेरचन र भोजपुरकी नङसलदेवी तामाङ रहे । दुवैले समान १० हजार प्राप्त गरे ।

पुरुषतर्फ आर्मीका प्रफुल महर्जनले उपाधि जिते । पहिलो पटक च्याम्पियन बन्ने क्रममा उनले सप्तरीका विष्णु कटुवाललाई २१–९, २१–६ ले पराजित गरेको थिए । उनले ५० हजार र विष्णुले २५ हजारसहित ट्रफी प्राप्त गरे । तेस्रो स्थानमा आर्मीका विधान अधिकारी र एपीएफका क्षितिज खनाल रहे । दुवैले समान १० हजार प्राप्त गरे ।

बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको मेन्स डबल्सतर्फ आर्मीका विधान र पविन लिङथेपको जोडी विजयी भयो । प्रतियोगितामा लगातार चौंथो पटक उपाधि जित्दा उनीहरूको जोडीले आर्मीका प्रफुल र टाइमआउटका रुकेश महर्जनको जोडीलाई २१–२३, २१–१७, २१–१८ ले पराजित गरेको थियो । एपीएफका देवराज राना र प्रनिशसिंह ठकुरी तथा तीनचुलीका सुनिल कार्की र महेश खड्काको जोडी तेस्रो भए । विजेता जोडीले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले समान १० हजार पुरस्कार पाए ।

यू–१७ तर्फ आर्मीका सुदीप राई र रिहाना शेरचनले उपाधि जितेका छन् । सुदीपले आफ्नै क्लबका प्रतीक विष्टलाई २१–१९, २१–१५ ले पराजित गरे । आर्मीका रिजन महर्जन र सौर्य महर्जन तेस्रो भए । रिहानाले फिट नेपाल स्पोर्ट्स प्लेक्सकी निभा राईलाई २१–१४, २१–१४ ले हराइन् । यस विधामा एपीएफकी स्वर्लिन श्रेष्ठ र आर्मीकी समृद्धि श्रेष्ठ संयुक्त तेस्रो स्थानमा रहे । शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले २० हजार, १० हजार र ५ हजार पुरस्कार पाए ।

मास्टर युगल ४५ वर्षमाथि प्रतिस्पर्धामा पिस फिटनेस क्लबका सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडीले युनिटी ब्याडमिन्टनका आङकुसाङ शेर्पा र लाक्पा शेर्पाको जोडीलाई १७–२१, २१–१७, २२–२० ले हराएर उपाधि जित्यो ।

बालकुमारी रिमिक्सका शान्ता डंगोल र ज्ञानु कुमालको जोडी तथा कोटेश्वरका अच्युत बस्नेत र महेश भट्टराईको जोडी संयुक्त तेस्रो भए । विजेताले ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे । विजेतालाई मुख्य प्रायोजक ललितपुर महानगरकी उपमेयर मञ्जली शाक्य वज्राचार्यलगायतले पुरस्कार वितरण गरे ।

कान्तिपुर

Link copied successfully