न्यु एरा एकेडेमी र न्युटनले आठौं ओप्स खेलकुद महोत्सवमा आइतबार उपाधि जितेका छन् ।
काठमाडौँ — न्यु एरा एकेडेमी र न्युटनले आठौं ओप्स खेलकुद महोत्सवमा आइतबार उपाधि जितेका छन् । न्यु एरा सिनियर ब्वाइज फुटसल र न्युटन ब्वाइज भलिबलमा च्याम्पियन बनेका थिए ।
सेक्रेड हार्ट स्कुलमा भएको ब्वाइज फुटसल फाइनलमा न्यु एराले न्युटनलाई ३–१ गोलले पराजित गर्यो । न्यु एराका पेम्बा तामाङले २ र आयुश बरामले १ गोल गरे । न्युटनका युगेन लामाले एक गोल फर्काए । सेक्रेड हार्ट र सेब तेस्रो भए । १६ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । यसअघि १२ टिम सहभागी गर्ल्स फुटबलको उपाधि हिमरश्मिले जितेको थियो ।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित खेलकुद महोत्वसअन्तर्गत ब्वाइज भलिबलको ‘बेस्ट अफ फाइभ’ फाइनलमा न्युटनले हिमरश्मिलाई २५–१७, २३–२५, १९–२५, २५–१२, १५–६ ले हरायो । सेक्रेड हार्टले सेबलाई २५–१३, २५–२३ ले पाखा लगाउदै तेश्रो भयो । भलिबल ८ टिम सहभागी थिए ।
खेलकुद महोत्वसअन्तर्गत एथलेटिक्स र ब्याडमिन्टनको पनि प्रतिस्पर्धा भएको थियो । एथलेटिक्समा कौशल र व्याडमिन्टनमा हिमरश्मि च्याम्पियन बनेको थियो ।
विजेतालाई प्याब्सन बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष सानुराजा कार्की र सदस्य विष्णुचन्द्र अधिकारी, ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्का, तार्केश्वर नगर खेलकुद विकास समितिका उपाध्यक्ष फिरोज श्रेष्ठलगायतले पुरस्कृत गरे ।
